ताजा खबर
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण अवरुद्ध भयो। ५८ दिनदेखि लगातार संसद्मा अवरोध गरिरहेका यी दुई दलले फेरि भ्रष्टाचार र भिजिट भिसाका नाममा भइरहेको मानव बेचबिखनप्रति कडा आपत्ति जनाए।
बैठक सुरु हुनेबित्तिकै सांसदहरू उठेका थिए। सभामुखले समय दिएपछि रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले सरकारप्रति आक्रोश व्यक्त गर्दै भनिन्, "भिजिट भिसाका नाममा नेपालीहरू बेचिँदैछन्, तर सरकार मौन छ। तस्करहरू खुलेआम सेटिङमा छन्।"
उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८ लाख घुस प्रकरणमा राजीनामा दिएको स्मरण गराउँदै, भूमि व्यवस्था मन्त्री बलराम अधिकारीमाथि ३२ लाख घुसको आरोप लाग्दा पनि उनलाई पदमा राखिएकोप्रति आपत्ति जनाइन्।
त्यसैगरी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशभर भ्रष्टाचार मौलाइरहेको टिप्पणी गर्दै भने, "भ्रष्टाचार अन्त्य गर्न राजनीतिक नेतृत्व स्वयं छानबिनको दायरामा आउनुपर्छ। कोरियामा रोजगारीका नाममा एउटै जहाजबाट पठाउने भन्दै दलालहरू पैसा खाँदैछन्। सरकार सुन्न तयार छैन भने अब सडकबाट दबाब दिन बाध्य हुनेछौं।"
विरोधपछि दुवै दलका सांसदहरू बैठक बहिष्कार गर्दै सभाकक्षबाट बाहिरिएका छन्।
यसरी संसद्मा लामो समयदेखि जारी अवरोधले विधायन प्रक्रिया प्रभावित भएको छ भने जनहितका विषयमा छलफल हुन नसकेकोप्रति नागरिकस्तरबाट पनि चिन्ता बढ्दै गएको छ।
Popular Tags:
Super Admin
>