ताजा खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै किसिमका भ्रष्टाचार छानबिन गर्न माग गर्दै शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउँदै छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा दिउँसो १ बजे टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा ज्ञापन बुझाउने कार्यक्रम तय गरिएको हो।
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार असार १९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेअनुसार यो कदम चालिएको हो। आयोगलाई दबाब दिन प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने तयारी गरिएको श्रेष्ठले बताए।
उनका अनुसार राप्रपाले २०४६ सालपछि राज्यका उच्च तहमा पुगेका नेता, कर्मचारी र उनीहरूका नातेदारहरूको सम्पत्ति छानबिनको माग पनि राख्नेछ। सम्पत्ति शुद्धीकरण विभागमा छुट्टै निवेदन दिने तयारी समेत गरिएको छ।
प्रवक्ता श्रेष्ठले राजनीतिक संरक्षणबिना ठूला भ्रष्टाचार सम्भव नभएको दाबी गर्दै अख्तियार तथा सम्पत्ति शुद्धीकरण विभागको ध्यानाकर्षण गराउन चरणबद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका छन्।
Popular Tags:
Super Admin
>