ताजा खबर
काठमाडौं — निरन्तरको वर्षाका कारण बीपी राजमार्ग दैनिकजसो अवरुद्ध हुने क्रम जारी छ। सोमबार दिउँसो केही समयका लागि खुला गरिएको सडक आज पुनः अवरुद्ध भएको छ। सोमबार राति आएको बाढी र पहिरोले सडकमा ठूलो क्षति पुर्याएको छ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार, बीपी राजमार्गअन्तर्गत रोशी-९ पिन्थलीबेशी, मंगलटारको बिरुवाडाँडामा रहेको फेदीखेला, साङखोलामा आएको बाढीले सडक कटान गरेको छ। काभ्रे र सिन्धुलीको सिमानामा बर्खेखोलाबाट आएको बाढीले पनि सडक अवरुद्ध बनाएको छ। त्यसैगरी रोशीको पिप्ले र पानीतारे नजिकै पहिरो खसेर राजमार्गमा बाधा पुगेको छ।
प्रहरी प्रमुख कार्कीले भने, “हाल रोशी-९ पिन्थलीको लेदो हटाएर बिरुवाडाँडाको लेदो हटाउने काम सुरु गरिएको छ। सडक दुवैतर्फ अवरुद्ध भएकाले पहिरो र लेदो हटाउन कम्तिमा ३–४ घण्टा लाग्ने अनुमान छ। सडक विभाग र निर्माण कम्पनी एवन निर्माण सेवासँग मिलेर राजमार्ग खोल्ने प्रयास जारी छ।”
यो राजमार्ग सोमबार राति ८ बजेदेखि अवरुद्ध छ र दैनिक यस्तो समस्या भएपछि यात्रुहरू चिन्तित बनेका छन्। यसअघि पनि असार १६, २५ र २६ गते पिन्थली र बिरुवाडाँडामा सडक अवरुद्ध भइसकेको थियो।
सडक अवरुद्ध भएपछि काभ्रे र सिन्धुली प्रहरीले यात्रु र सवारी साधनको सुरक्षा सुनिश्चित गर्दै विभिन्न स्थानहरूमा सवारीसाधन रोकिरहेको छ। काभ्रेबाट सिन्धुली जाने सवारीहरू काभ्रेभञ्ज्याङ र भकुण्डेमा रोकिएका छन् भने सिन्धुली प्रहरीले सदरमुकाम सिन्धुलीमाडी, हिरापानी चेकपोष्ट र अन्य सुरक्षित स्थानहरूमा सवारी साधन थामेको छ।
यस कारण काठमाडौंदेखि पूर्वतर्फ र पूर्वतर्फबाट काठमाडौंतर्फ जाने मार्गमा लामो जाम र यात्रु अलपत्र पर्ने अवस्था सिर्जना भएको छ।
जिल्ला ट्राफिक कार्यालय काभ्रेद्वारा राजमार्ग खुल्ने अवस्था सुनिश्चित नभएसम्म यात्रा नगर्न आग्रह गरिएको छ।
Popular Tags:
Super Admin
>