ताजा खबर
धनगढी। कैलाली जिल्लामा निरन्तरको वर्षासँगै नदीमा आएको बाढीले दुई महिलाको ज्यान लिएको छ भने एक जना अझै बेपत्ता छन्। जिल्लाका विभिन्न नदीमा आएको बाढीले बगाएर बेपत्ता भएका ती महिलाहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
घोडाघोडी नगरपालिका–४ माघी बस्ने ७० वर्षीया चुनबुदिया चौधरीको शव कान्द्रा नदी किनारमा वेवारिसे अवस्थामा फेला परेको हो। दाउरा संकलनका लागि गएकी चौधरीलाई बाढीले बगाएको थियो। सनाखतपछि शव उनको भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
त्यस्तै, गोदावरी नगरपालिका–२ स्थित महराकटान क्षेत्रमा गोदावरी नदी किनारमा अन्दाजी ५६ वर्षीया एक महिलाको शव विभत्स अवस्थामा भेटिएको छ। हालसम्म शवको सनाखत हुन नसकेको र सेती प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यता, गौरीगंगा नगरपालिका–२ को पूरानो चौमाला बजार नजिकैबाट नदी पार गर्ने क्रममा बगाएका अन्दाजी ५० वर्षीय एक पुरुष भने अझै बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
लगातारको वर्षाले कैलालीका साना–ठूला नदीमा जलस्तर उच्च भएको छ। प्रहरी प्रशासनले सतर्कता अपनाउन र नदी आसपास नजान सर्वसाधारणलाई अनुरोध गरेको छ।
Popular Tags:
Super Admin
>