ताजा खबर
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी इको क्षेत्रमा बिहीबार बिहान ठूलो पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। राजमार्गको भासिएको भागले चीनसँगको सडक सम्पर्क पनि विच्छेद भएको छ, जसको प्रत्यक्ष असर नेपाल–चीन व्यापारिक र धार्मिक आवागमनमा परेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोका कारण राजमार्ग भएर चल्ने मालबाहक कन्टेनर, यात्रुबाहक सवारी, एम्बुलेन्सलगायतका साना–ठूला गाडीहरू भन्सार क्षेत्रमा रोकिएका छन्। चीनको मानसरोवर कैलाश यात्रा गरेर फर्कंदै गरेका विदेशी तीर्थयात्रीहरूसमेत बाटोमै अलपत्र परेका छन्।
रसुवाको टिमुरे–केरुङ सडकमार्ग अवरुद्ध भएपछि तीर्थयात्रीहरू बुधबारदेखि तातोपानी नाका प्रयोग गरेर नेपाल फर्कनेक्रममा थिए। तर कोदारी क्षेत्रमा पहिरो जाँदा तातोपानी नाका पनि बन्द भएपछि उनीहरूको यात्रा पुनः अवरुद्ध भएको छ। अध्यागमन कार्यालय तातोपानी कोदारीका प्रमुख कृष्ण खनालका अनुसार अहिले तीर्थयात्रीहरूलाई फर्काउन वैकल्पिक उपायबारे छलफल भइरहेको छ।
बुधबार मात्र विभिन्न मुलुकका नागरिकहरू — अमेरिका, क्यानडा, आयरल्यान्ड, मलेसिया, सिंगापुर आदि मुलुकका भारतीय मूलका तीर्थयात्रीहरू — मध्ये ७२ जनालाई हेलिकप्टरमार्फत र ६४ जनालाई बसमार्ग हुँदै काठमाडौं ल्याइएको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव खरेलका अनुसार सडकमार्ग प्रयोग असम्भव देखिएमा बाँकी तीर्थयात्रीहरूलाई हेलिकप्टरबाट ल्याउने वैकल्पिक तयारी सुरू गरिएको छ।
तीव्र वर्षाका कारण पहिरो जाने क्रम निरन्तर जारी रहेको हुँदा, चिनियाँ सीमा व्यापार, धार्मिक पर्यटन र स्थानीय जनजीवनमा ठूलो असर परेको छ। सडक खुलाउने प्रयास तीव्र पारिए पनि तत्काल सहज आवागमन सम्भव हुने देखिएको छैन।
यात्रा र व्यापार दुवैको लागी जीवनरेखा मानिएको अरनिको राजमार्ग बारम्बारको पहिरोले जोखिममा पर्दै गएको छ। अबको प्राथमिकता भनेको अलपत्र तीर्थयात्रीहरूको सुरक्षित उद्धार र सडक खुलाउने कामलाई यथाशीघ्र सम्पन्न गर्नु हो।
Popular Tags:
Super Admin
>