ताजा खबर
गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका र आसपासका विभिन्न बस्तीहरूमा लामो समयदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्क अवरुद्धजस्तै बनेको छ। विशेषगरी वडानम्बर १ र २ मा सञ्चार सम्पर्कमा कठिनाइ हुँदा स्थानीयहरू दैनिक कार्यमै बाधा खेपिरहेका छन्।
गुरुवा, राहले, झरना, छिनुवा, हुलाकेल, छल्दि टारी, पालुखा, सिल्तुङ, स्याला, रातचौर, रातडाँडा जस्ता बस्तीहरूमा फोन लाग्दैन वा कुराकानी अवरुद्ध हुन्छ। मोबाइलबाट इन्टरनेट, एसएमएस सेवा, आपत्कालीन संवाद जस्ता आधारभूत आवश्यकता पनि पुरा गर्न नसकिने अवस्था रहेको इस्मा–२ का राजन कुँवर बताउँछन्।
रेसुङ्गा नगरपालिका–४ को पनाघाट क्षेत्रमा पनि यस्तै समस्या देखिएको छ। इस्मा–१ का ऋषिराम खत्री भन्छन्, “फोन नलाग्दा बाँदर धपाउनको लागि पनि एकअर्कालाई खबर गर्न सकिँदैन।”
वडाध्यक्ष लोकनाथ आचार्यका अनुसार टेलिकमलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि समाधान भएको छैन। प्राविधिक टोलीले गत वर्ष पालुखा क्षेत्रमा टावर राख्ने प्रस्तावसहित स्थलगत अध्ययन गरे पनि हालसम्म कुनै कार्यान्वयन नभएको जनाइएको छ।
स्थानियले तत्काल टावर निर्माण गरी सञ्चार सेवा सहज गरिनु पर्ने माग गर्दै आएका छन्।
Popular Tags:
Super Admin
>