ताजा खबर
काठमाडौं । चितवनको ग्रामीण बस्तीका चेपाङ बालबालिका, जसको दिनचर्या चिउरी बेच्ने र स-साना खेतबारीको काममै सीमित थियो, अहिले स्याटेलाइट बनाउने इन्जिनियर बनेका छन्। ‘स्लिपर्स टु स्याट’ परियोजनामार्फत उनीहरूले सीमित स्रोत, सामान्य स्कुल र कुनै प्रविधि ज्ञान बिना नै नेपाली अन्तरिक्ष इतिहासमा पहिलोपटक ग्रामीण समुदायको बाल सहभागिता सुनिश्चित गराए।
चितवनको नवोदय माध्यमिक विद्यालयका ९ जना चेपाङ विद्यार्थीले बनाएको यो स्याटेलाइट आगामी सेप्टेम्बर १५ मा चीनबाट प्रक्षेपण हुँदैछ। थ्रीडी डिजाइन, कोडिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेसन र डाटा प्रोसेसिङ जस्ता जटिल प्रविधिमा सहभागी यी किशोरहरू केही समयअघि कम्प्युटर अन गर्न पनि डराउँथे।
यस स्याटेलाइटमा प्राकृतिक स्रोतको निगरानी, भूकम्प अघिको चेतावनी संकेत, पृथ्वीको सतहको विश्लेषणजस्ता चार प्रमुख मिसन छन्। काम सकिएको छैन, अब डाटा विश्लेषणका लागि ग्राउन्ड स्टेसनमार्फत विद्यार्थीले नै निरन्तर सघाउनेछन्।
गाउँमा कहिल्यै नसोचिएको सपना साकार भएको देखेर अभिभावक समेत आश्चर्यचकित छन्। सुरुमा शिक्षक बन्ने सपना देखेका यी विद्यार्थी अहिले अन्तरिक्ष वैज्ञानिक बन्ने आकांक्षा राखिरहेका छन्। अमृत चेपाङ भन्छन्, “हामी अन्तरिक्षमै काम गर्न चाहन्छौं।”
यो परियोजना केवल प्रविधिको सफलता मात्र होइन, समाजको गहिरो परिवर्तनको संकेत पनि हो। चेपाङजस्ता सीमान्तकृत समुदायका बालबालिकाले देशको अन्तरिक्ष भविष्यको ढोका खोलेका छन्। 'स्लिपर्स टु स्याट' अब केवल परियोजना रहेन, यो अब प्रेरणा बनिसकेको छ ।
Super Admin
>