ताजा खबर
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ अध्ययन संस्थानका प्रमुख क्याम्पसहरूमा पठनपाठन ठप्प भएको छ । १९ असारदेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका प्राध्यापकहरूले २५ असारदेखि सम्पूर्ण शैक्षिक गतिविधि रोकेका हुन् । उनीहरूले संस्थानको स्वायत्तता खोसिएको भन्दै चर्को विरोध जनाउँदै आएका छन् ।
पुल्चोक, थापाथली, पूर्वाञ्चल, पश्चिमाञ्चल र चितवन क्याम्पसमा अहिले शिक्षण गतिविधि ठप्प छन् । आन्दोलनमा सहभागी प्राध्यापकहरूले त्रिविको कार्यकारी परिषद्को बजेट वक्तव्यले २०५५ सालको विकेन्द्रीकरण नियमावली विपरीत अधिकार कटौती गरेको आरोप लगाएका छन् । डिनको कार्यालयलाई दिइएको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्तता खोसिएको भन्दै उनीहरूले विरोध चर्काएका हुन् ।
पुल्चोक क्याम्पसका सहसचिव रोशन कार्कीका अनुसार शिक्षकहरू अधिकार नफर्के सम्म आन्दोलन रोकिने छैन । उनका अनुसार ‘कार्यकारी परिषद्ले विकेन्द्रीकरण मान्य छ’ भन्ने स्पष्ट पत्र नआएसम्म पढाइ सञ्चालन नहुने हो ।
शिक्षकहरूले सामूहिक राजीनामा समेत दिएका छन् । आन्दोलनले इन्जिनियरिङ अध्ययन संस्थानका हजारौं विद्यार्थीको पढाइ प्रभावित भएको छ । त्रिवि प्रशासनले भने वार्ताका लागि समिति गठनको तयारी भइरहेको जनाएको छ ।
अब यो आन्दोलन तत्काल समाधान नहुने हो भने इन्जिनियरिङ क्याम्पसमा परीक्षादेखि अन्तिम वर्षका प्रोजेक्टसमेत अन्योलमा पर्ने देखिन्छ ।
Popular Tags:
Super Admin
>