ताजा खबर
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान स्तरोन्नतिको काम तोकिएको समयमै सम्पन्न गर्न नसकेपछि ठेकेदार कम्पनीलाई हर्जाना तिर्न थालिएको छ । प्यारापिट निर्माण र फ्लडलाइट जडानको जिम्मा लिएका दुई ठेकेदार कम्पनीले सम्झौता अनुसार काम पूरा गर्न नसक्दा अब दैनिक झण्डै २ लाख रुपैयाँभन्दा बढी हर्जाना तिर्नुपर्नेछ ।
शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार मैदान स्तरोन्नतिका लागि बीकेओआई केसीडीसी बीजी जेभीसँग ४९ करोड २५ लाख रुपैयाँको प्यारापिट निर्माण सम्झौता गरिएको थियो । यस्तै, फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीसँग ४७ करोड ३७ लाखको सम्झौता भएको थियो ।
निर्माण कम्पनीलाई असार ३० गतेबाटै हर्जाना लाग्ने जानकारी दिइसकिएको कार्यालय प्रमुख चक्रवर्ती कण्ठले बताए । उनका अनुसार कानुन अनुसार कूल सम्झौता रकमको १० प्रतिशतसम्म हर्जाना तिराउने व्यवस्था छ । अधिकतम २ सय दिनसम्म हर्जाना तिरेर काम गर्ने अनुमति हुन्छ । त्यस अवधिमा पनि निर्माण नसकिए कालोसूचीमा राखिने चेतावनी दिइएको छ ।
यद्यपि, निर्माण कम्पनीले अबको एक महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । हालसम्म प्यारापिटतर्फ ७७ प्रतिशत भौतिक र ६३ प्रतिशत वित्तीय प्रगति भएको छ । फ्लडलाइटतर्फ भने ३ वटा पोल जडान भइसकेको र ४५ प्रतिशत भौतिक तथा २९ प्रतिशत वित्तीय प्रगति भएको छ ।
मैदान निर्माण ढिलाइका कारण आगामी अन्तर्राष्ट्रिय खेलको तयारीमा असर पर्ने देखिएको छ ।
Super Admin
>