ताजा खबर
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको आवद्धता तथा योगदान रकम संकलनमा उल्लेख्य वृद्धि भएको छ।
आर्थिक वर्ष २०८१/८२ सम्ममा रोजगारदाता सूचीकरण २० हजार ९५१ पुगेको कोषले जनाएको छ। सो अवधिमा मात्रै आठ लाख ८९ हजार ९४६ नयाँ श्रमिक कोषमा सूचीकृत भएका छन्, जससँगै कुल योगदानकर्ताको संख्या २३ लाख ७४ हजार ४८६ पुगेको हो।
तीमध्ये ६ लाख एक हजार ८२५ औपचारिक क्षेत्रमा कार्यरत छन् भने वैदेशिक रोजगारीमा रहेका १७ लाख ७१ हजार ५३७ श्रमिक योगदानकर्ताका रूपमा कोषमा आबद्ध छन्। अनौपचारिक तथा स्वरोजगार श्रमिक संख्या एक हजार १२४ रहेको कोषले जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ मा मात्र २५ अर्ब ३६ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ भने कुल संकलन ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ।
कोषमा आवद्ध र नियमित रूपमा योगदान गरेका श्रमिकहरूले विभिन्न सामाजिक सुरक्षा योजनाको लाभ लिएका छन्।
स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत एक लाख १० हजार ६९६ जनालाई २ अर्ब १५ करोड, दुर्घटना तथा अशक्तता योजना अन्तर्गत पाँच हजार ९३३ जनालाई २० करोड, आश्रित परिवार योजना अन्तर्गत सात सय ४५ जनालाई २६ करोड र वृद्धावस्था सुरक्षा योजनामा एक लाख १२ हजार आठ सय ६८ जनालाई १३ अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ।
गत आर्थिक वर्षमा मात्र तीन लाख ६२ हजार नयाँ दाबी भुक्तानीसहित १५ अर्ब ७५ करोड रुपैयाँ बराबरका कुल सात लाख ५६ हजार दाबी भुक्तानी गरिएको छ।
कोषले श्रमिकको सामाजिक सुरक्षाका लागि सेवा विस्तारको तयारी गरिरहेको जनाएको छ।
Popular Tags:
Super Admin
>