ताजा खबर
५ असोज, जनकपुरधाम । जनमत पार्टी छोडेका नेताहरुले नयाँ राजनीतिक शक्ति जनस्वराज पार्टीको घोषणा गरेका छन् । असोज ३ र ४ गते जनकपुरधाममा सम्पन्न भेलाले पुराना दलहरूको असफलता, बेथिति र भ्रष्टाचारविरुद्ध नयाँ विकल्प प्रस्तुत गर्ने भन्दै ई. दिपक साहको संयोजकत्वमा पार्टी गठन गरेको हो ।
भेलाले पुराना दलहरू आत्मकेन्द्रित र विभाजनकारी मानसिकतामा अड्किएको कारण जनताको आकांक्षा र अधिकारमाथि तानाशाही ढंगले खेलबाड भएको ठहर गर्दै अब जनता आफैं सशक्त भएर आफ्नो भविष्य निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टीको गतिविधि सञ्चालनका लागि डा. संजयकुमार साह संयोजकत्वमा प्रशिक्षण विभाग र ई. सुरेन्द्र नारायण यादव संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ । संयोजक दिपक साह यसअघि जनमत पार्टीमा वरिष्ठ उपाध्यक्ष थिए भने यादव कोषाध्यक्षका रुपमा कार्यरत थिए । अन्य विभागहरु चाँडै गठन गरिने जनाइएको छ ।
जनस्वराज पार्टीले आफ्नो मुख्य एजेन्डा रुपमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पारदर्शी र जवाफदेही राजनीति, शिक्षा–स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, सम्मानजनक अधिकार र अवसर, महिला–युवा–दलित–मुस्लिम–किसान–श्रमिक लगायत विपन्न वर्गको सशक्तीकरण, तथा स्थानीय स्वायत्ततासहितको कार्यकारी राष्ट्रपति प्रणालीलाई अघि सारेको छ ।
Super Admin
>