ताजा खबर
काठमाडौं — व्यक्तिगत घटना विवरणमा त्रुटि भएपछि झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब राहत पाउने भएका छन् । सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐनमा आवश्यक संशोधन गरी व्यक्तिगत विवरण एकपटक सच्याउन मिल्ने व्यवस्था ल्याउने तयारी गरेको छ ।
हाल राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ अनुसार बालबालिकाको जन्मदर्ता एक वर्षभित्र मात्र सच्याउन सकिने व्यवस्था छ । तर, यो सुविधा २०७६ सालपछि जन्मिएका मात्र बच्चालाई मात्र लागू हुने भएकाले पुराना विवरण सच्याउन नपाउँदा धेरैले समस्या भोग्नुपरेको थियो ।
त्यही समस्या समाधानका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले ऐन संशोधन प्रक्रिया अघि बढाएको थियो । संशोधित ऐनअनुसार ‘कुनै व्यक्तिगत घटना दर्ताको विवरणमा नाम, थर, उमेर वा अन्य जानकारीमा सुधार गर्नुपर्ने भएमा सम्बन्धित व्यक्ति एकपटक मात्र स्थानीय पञ्जिकरण कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्ने’ व्यवस्था गरिएको छ ।
गृह मन्त्रालयले नियमावली तयार गरेपछि सोहीअनुसार स्थानीय तहमा निवेदन दिन सकिनेछ । यसले धेरै नेपाली नागरिकलाई दस्तावेजसम्बन्धी समस्या समाधान गर्ने अपेक्षा गरिएको छ ।
Super Admin
>