ताजा खबर
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको लामो जाम लाग्दा यात्रुहरू रातभर सडकमै अलपत्र परेका छन् । लगातारको वर्षाले बाटो चिप्लो बनेको र केही सवारी बिग्रिएर बीच सडकमै रोकिएकाले राजमार्गमा जाम भएको हो ।
एक कार चालकका अनुसार उनी हिजो बेलुका दाउन्ने पुगेका थिए तर रातभर जाममा परेपछि आज बिहानमात्र दुम्किबास आइपुगे । उनका भनाइमा सयौं यात्रुहरू रातभर सडकमै अड्किएका छन् ।
अरुणखोला र चोरमारा जंगल क्षेत्रसम्म करिब ४०० भन्दा बढी सवारी साधन लाइनमा रोकिएका स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक मोहन खड्काका अनुसार दाउन्ने खण्डमा चार वटा ट्रक र एक बस बिग्रिएर बाटो अवरुद्ध हुँदा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
उनले भने, “दाउन्ने क्षेत्रमा सवारीको अत्यधिक चाप छ, पानी परेकाले बाटो चिप्लो बनेको र हिजोदेखि नै समस्या आइरहेको छ।”
प्रहरी र स्थानीयले बिग्रिएका सवारी हटाउने र सडक खुलाउने प्रयास जारी राखेका छन्, तर जाम अझै पूर्ण रूपमा खुलेको छैन।
Super Admin
>