ताजा खबर
काठमाडौ । टर्कीको उत्तर–पश्चिमी प्रान्त बालिकेसिरमा आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक वृद्ध महिलाको मृत्यु भएको छ। टर्कीको गृह मन्त्रालयका अनुसार केन्द्रविन्दु सिन्डिर्गी सहरमा ८१ वर्षीया महिला भग्नावशेषबाट निकालिएलगत्तै ज्यान गुमाइन्।
सरकारी तथ्यांकअनुसार भूकम्पका कारण १६ भवन भत्किएका छन् र २९ जना घाइते भएका छन्। स्थानीय समयानुसार साँझ ७:५३ बजे आएको यो भूकम्पको धक्का राजधानी इस्तानबुलसम्म महसुस गरिएको थियो। भूकम्पपछि दर्जनौं परकम्पले पनि धर्ती हल्लाएको विपद् व्यवस्थापन कार्यालयले जनाएको छ।
राष्ट्रपति रेचेप तैयप एर्दोआनले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले उद्धार तथा पुनःस्थापना कार्यलाई तीव्रता दिइएको र देशलाई विपत्तिबाट जोगाउन प्रार्थना गर्ने उल्लेख गरेका छन्।
गृहमन्त्री अली येरलिकायाले हाल खोज तथा उद्धार कार्य सम्पन्न भएको र ठूलो क्षतिको संकेत नदेखिएको बताए पनि सिन्डिर्गीका दृश्यहरूमा ठूला भवनहरू पूर्णरूपमा ढलेका र फलामका बीमसहितको भग्नावशेष थुप्रिएको देखिन्छ।
टर्की तीन ठूला टेक्टोनिक प्लेटको संगमस्थलमा भएकाले यहाँ बारम्बार भूकम्प आउने गर्दछ। सन् २०२३ फेब्रुअरीमा आएको ७.८ म्याग्निच्युडको विनाशकारी भूकम्पले दक्षिणपूर्वी टर्की र सिरियामा ५५ हजारभन्दा बढीको ज्यान लिएको थियो, जसको दुई वर्षपछि पनि लाखौं मानिस अझै विस्थापित छन्।
Super Admin
>