ताजा खबर
काभ्रेपलाञ्चोक । काभ्रेको महाभारत गाउँपालिकामा स्वास्थ्य अवस्था गम्भीर बनेकी दुई महिलालाई पछिल्ला दुई दिनमा हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पुर्याइएको छ।
शनिबार महाभारत–१ की २० वर्षीया सुजिता थिङलाई सुत्केरीपश्चात पिसाब रोकिने गम्भीर समस्या देखिएपछि गोठगाउँ स्वास्थ्य चौकीमा उपचार गरिएको थियो। तर जटिलता बढ्न सक्ने देखिएपछि स्वास्थ्यकर्मीको सिफारिसमा उनलाई नेपाली सेनाको हेली एम्बुलेन्समार्फत त्रिवि शिक्षण अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागमा पुर्याइयो।
त्यसैगरी आइतबार महाभारत–६ बनमुढीकी २५ वर्षीया सुनिता मोक्तान लामो समयसम्मको प्रसव पीडाका कारण गम्भीर अवस्थामा पुगेकी थिइन्। स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि उनलाई पनि सेनाको हेलिकप्टरमार्फत सोही अस्पतालमा पठाइएको हो।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार उद्धार राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा नि:शुल्क रूपमा गरिएको हो।
नियमअनुसार हेलिकप्टर उद्धारका लागि स्थानीय स्वास्थ्य संस्थाका इञ्चार्जले गाउँपालिकालाई, गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग समन्वय गर्नुपर्ने प्रावधान छ।
Super Admin
>