ताजा खबर
काठमाडौं — नेपालमा टेलिग्राम एप प्रतिबन्ध लगाइएपछि काठमाडौंस्थित रुसी दूतावासले प्रतिक्रिया दिएको छ। दूतावासले आफूहरूले टेलिग्राममार्फत सूचना दिन रोक्ने छैनन् भनेको छ। साथै भीके (VK), फेसबुक र इन्स्टाग्रामजस्ता अन्य माध्यममार्फत पनि जानकारी प्रवाह जारी रहने जनाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले २ साउनमा सेवा प्रदायकहरूलाई टेलिग्राम बन्द गर्न निर्देशन दिएको थियो। सो निर्देशनपछि नेपालमा टेलिग्राम पहुँचमा अवरोध देखिएको छ। यद्यपि दूतावासले भने टेलिग्राम एकाउन्ट निरन्तर अपडेट भइरहने जनाएको छ। नेपालमा प्रयोगमा असहज भए पनि सूचना प्रवाह नरोकिने उल्लेख गरिएको छ।
दूतावासले विकल्पका रूपमा भीके सञ्जाल प्रयोग गर्न नेपाली प्रयोगकर्तालाई आग्रह गरेको छ। भीके र टेलिग्राम दुवैको स्थापना पावेल डुरोभले गरेका हुन्। उनी र रुसी सरकारबीचको द्वन्द्वपछि उनले भीके छाडेका थिए र पछि टेलिग्राम सुरु गरेका थिए।
नेपाल सरकारले टेलिग्राममाथि प्रतिबन्ध लगाउनुको पछाडि आपराधिक गतिविधिमा यसको प्रयोग हुनु मुख्य कारण मानिएको छ। एफवान सफ्ट ह्याक प्रकरणमा सिटिइन्स बैंकबाट साढे ३ करोड रुपैयाँ चोरी भएको थियो, जसमा टेलिग्राममार्फत बेरोजगार युवालाई प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ। त्यस्तै, लागूऔषध कारोबार, ठगीजस्ता गतिविधिमा पनि यसको प्रयोग भइरहेको प्रहरीको दाबी छ।
टेलिग्रामका संस्थापक पावेल डुरोभमाथि फ्रान्समा पक्राउ परेपछि विवाद चुलिएको थियो। उनीमाथि अनलाइन ठगी, अवैध कारोबार, र आपत्तिजनक सामग्री प्रवाहमा संलग्न भएको आरोप लागेको थियो। पछि उनी जमानतमा छुटेका थिए। यस घटनापछि टेलिग्राममाथि नियन्त्रण आवश्यक भन्ने आवाजहरू उठेका थिए।
टेलिग्राम विश्वभर ८० करोडभन्दा बढीले प्रयोग गर्ने एप हो। इन्क्रिप्सन, गोपनीयता र स्वतन्त्र सन्देश सम्प्रेषणको सुविधाले यो एप लोकप्रिय बनेको हो। रुस–युक्रेन युद्धदेखि विश्वका धेरै आन्दोलन र विरोधमा टेलिग्राम सूचना सम्प्रेषणको मुख्य माध्यम बनेको थियो। यही कारणले यसलाई एकातिर स्वतन्त्रताको प्लेटफर्म भनिन्छ भने अर्कोतिर अपराधीहरूलाई सुरक्षित माध्यम भन्दै आलोचना गरिन्छ।
नेपालमा यसको बन्द गरिनु, रूसी दूतावासको चासो, र विकल्प सुझाउनुले यो विषय अब प्रविधिको मात्र नभएर कूटनीतिक र सुरक्षा सरोकारसँग जोडिएको देखिन्छ।
Popular Tags:
Super Admin
>