ताजा खबर
काठमाडौं — नेपाली कांग्रेसले संविधान संशोधनका लागि अन्य दलसँग संवाद गर्न कार्यदल गठन गर्ने तयारी गरेको छ। कार्यदलको संयोजकमा पूर्वमहामन्त्री तथा संविधान निर्माणका क्रममा सक्रिय भूमिका निभाएका नेता कृष्णप्रसाद सिटौलाको नाममा पार्टीभित्र सहमति बन्ने चरणमा पुगेको छ।
कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार बन्ने कार्यदलको घोषणा २–३ दिनभित्र हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। उनका अनुसार कार्यदलमा संयोजकसहित ५ देखि ७ जना सदस्य रहनेछन्।
सिटौलाले अनलाइनखबरसँगको कुराकानीमा जिम्मेवारी पाएमा अस्वीकार नगर्ने संकेत गरेका छन्। “छलफलपछि मात्रै मेरो इच्छाले हुने–नहुने कुरा हो, तर जिम्मेवारी पाएमा नबस्ने भन्ने कुरा पनि भएन,” उनले भने।
पार्टीका अनुसार कार्यदलले संविधान निर्माणमा सहकार्य गरेका दलहरू, विज्ञ, विशेषज्ञ तथा नागरिक समाजसँग संवाद गर्नेछ। साथै, पार्टीभित्र संविधान संशोधनका एजेन्डामा पनि विस्तृत छलफल चलाउनेछ।
कांग्रेस र एमालेबीच सरकार गठनका क्रममा संविधान संशोधनको विषय एजेन्डामा समावेश भएको थियो। कांग्रेसका नेताहरूका अनुसार, कार्यदलको उद्देश्य आवश्यक संशोधनका बुँदामा सहमति जुटाएर विधेयक अघि बढाउने हो, जसका लागि सबै दलको सहभागिता आवश्यक हुनेछ।
Super Admin
>