ताजा खबर
काठमाडौं । देशकै प्रमुख तरकारी केन्द्र कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास सतिका अनुसार दोलखाबाट ल्याइएको रायो सागमा ८०.९५९० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादीको मात्रा पाइएको छ, जुन मानव उपभोगका लागि अयोग्य मानिन्छ।
बुधबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटीमा रहेका १७ थरी तरकारी तथा फलफूलको परीक्षण गरेको थियो। परीक्षणमा रायो सागमा अत्यधिक विषादी रहेको देखिएको हो।
नेपाल सरकारको मापदण्डअनुसार तरकारीमा ३५ प्रतिशतभन्दा कम विषादी भए मात्र उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्मको अवस्थामा केही दिन राखेर मात्र सेवन गर्न मिल्ने जनाइएको छ। तर ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा त्यस्ता तरकारी पूर्ण रूपमा हानिकारक मानिन्छन्।
यो पहिलो पटक होइन — यसअघि २४ असारमा भक्तपुरबाट ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत विषादी भेटिएको थियो भने २६ असारमा काभ्रेबाट आएको घिउ सिमीमा ८६.८४ प्रतिशत विषादी पाइएको थियो।
तरकारीमा यसरी बारम्बार अत्यधिक विषादी भेटिनु उपभोक्ताको स्वास्थ्य र सार्वजनिक सुरक्षामाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ। उपयुक्त निगरानी, विषादी न्यूनीकरण र आपूर्ति श्रृंखलाको कडाइ बिना यस्तो समस्या नियन्त्रणबाहिर जान सक्ने विज्ञहरूको चेतावनी छ।
Super Admin
>