ताजा खबर
काठमाडौं । संघीय संसद भवन नयाँबानेश्वरमा आगजनीका कारण क्षतिग्रस्त भएपछि राष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि समितिको हलबाट सञ्चालन गर्ने तयारी सुरु भएको छ।
‘जेनजी आन्दोलन’का क्रममा आन्दोलनकारीले नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आगजनी गरेर ठूलो क्षति पुर्याएका थिए। नयाँ संसद भवन अझ निर्माणाधीन अवस्थामा रहेकोले स्थायी सभा भनिने ५९ सदस्यीय राष्ट्रिय सभाको बैठक अहिलेका लागि सिंहदरबारमै सार्ने गृहकार्य अघि बढाइएको हो।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, “सिंहदरबारभित्रको पुरानो प्रतिनिधि सभा भवन २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएकाले त्यसको पनि प्रबलीकरण भइरहेको छ। यस्तो अवस्थामा कृषि समितिको हल सबैभन्दा उपयुक्त विकल्प देखिन्छ,” उनले बताए।
उनका अनुसार, बैठक सुरु भएपछि युट्युबमा लाइभ प्रसारण गर्नुपर्ने र सीमित दर्शकका लागि पनि व्यवस्था गर्नुपर्ने भएकाले प्राविधिक र भौतिक पूर्वाधार न्यून खर्चमै कसरी तयार पार्ने भन्ने विषयमा छलफल भइरहेको छ।
“नयाँ संसद भवन तयार भएपछि बैठक त्यहीँ सर्नेछ। त्यसैले अहिलेको लागि कृषि समितिको हलमा न्यून लगानीमै काम चलाउने सोच छ,” गिरीले स्पष्ट पारे।
यसअघि पनि राष्ट्रिय सभाको प्रारम्भिक बैठक यही हलबाट सञ्चालन भएको थियो।
२३ र २४ भदौको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा २७ भदौमा विघटन भएको थियो। सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरिसकेको छ। तर स्थायी सभा भनिने राष्ट्रिय सभा भने कायमै छ।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले अन्तर व्यवस्थापिक संघ (आईपीयू)को १५१औं महासभामा सहभागी हुन स्विट्जरल्याण्ड प्रस्थान गर्नुअघि प्रधानमन्त्री सुशीला कार्कीसँग बैठक स्थलबारे प्रारम्भिक छलफल गरेका थिए।
अध्यक्ष दाहाल आज स्वदेश फर्किएपछि यस विषयमा थप निर्णय हुने अपेक्षा गरिएको छ।
Super Admin
>