ताजा खबर
रसुवा — नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण कार्य सुरु भएको छ। असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएपछि चीन सरकारले नयाँ बेलीब्रिज निर्माणको प्रक्रिया अघि बढाएको हो।
१० मिटर चौडाइ र १०० मिटर लम्बाइ भएको मितेरी पुल बाढीले बगाएपछि आवतजावत र व्यापार ठप्प भएको थियो। त्यसपछि चीनले अस्थायी रूपमा प्रयोग गर्न बेलीब्रिज बनाउने तयारी थालेको र भुइँ सतह सम्याउने काम सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।
उनका अनुसार पुरातात्विक संरचनामा असर नपरोस् भनेर नयाँ पुलको स्थान दुई मिटर पूर्वतर्फ सारिएको छ। निर्माण स्थलमा आवश्यक उपकरणहरू ल्याइसकिएको र चारवटा स्काभेटर प्रयोग गरी खोलामा अनियन्त्रित पानीलाई नियन्त्रणमा ल्याउने काम भइरहेको छ।
चिनियाँ पक्षले आगामी भदौ ३० गतेभित्र बेलीब्रिज निर्माण सम्पन्न गर्ने बताएको छ। पुल सञ्चालनमा आएपछि बन्द भएको रसुवागढी नाका पुनः सञ्चालनमा आउने आशा गरिएको छ। यता, पुल बगाउँदा रोकिएको एकीकृत भन्सार भवनको निर्माण कार्य पनि प्रभावित बनेको छ।
Super Admin
>