ताजा खबर
‘खुस्मा’बाट दर्शकमाझ छुट्टै छाप बनाएका निर्देशक अशोक थापामगर अब नयाँ फिल्म ‘जलाकी’ लिएर फर्कंदैछन्, जसले रोमान्स, संस्कार र जातीय पहिचानको संगम बोकेको कथा सुनाउने तयारी गरेको छ। चैतमा पहिलो चरणको छायांकन सकिएको यस फिल्ममा अब दोस्रो र तेस्रो चरणको सुटिङ सुरु हुँदैछ, जहाँ दर्शकले पुरानै जोडी उपासना सिंह ठकुरी र धीरज मगरलाई फेरि पर्दामा एकसाथ देख्न पाउनेछन्।
‘जलाकी’मा उपासनाले धीरज र सोनम तोप्देनसँग स्क्रिन सेयर गर्नेछिन्। ‘खुस्मा’मा दमदार अभिनय देखाइसकेकी उपासना यो फिल्ममा पनि केन्द्रमा रहनेछिन्। सोमबार सार्वजनिक गरिएको फिल्मको पोस्टरमा उपासना र धीरजलाई रोमान्टिक शैलीमा देखाइएको छ, जसले दर्शकमा उत्सुकता बढाएको छ।
फिल्मले त्रिकोणात्मक प्रेम कथा प्रस्तुत गर्नुका साथै मगर र गुरुङ समुदायको जीवनशैली, संस्कृति र आस्थालाई समेत पर्दामा उतार्नेछ। रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरा र दक्षिण कोरियासम्म फैलिने छायांकनले दृश्यगत विविधता दिने अपेक्षा गरिएको छ। ‘जलाकी’ शब्दले मगर समुदायमा मायाको प्रतीकको रूपमा मानिने ढुंगाको स्तम्भलाई जनाउँछ, जुन स्मृतिको एउटा भावुक र गहिरो प्रतीक हो।
फिल्ममा ‘मिस सिक्किम’ विजेता साहारा हाङमा लिम्बुको डेब्यु पनि विशेष चर्चा बटुलिरहेको छ। उनीसँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङजस्ता चर्चित कलाकारको उपस्थिति फिल्मको आकर्षण बन्नेछ।
‘एम मिडिया’को व्यानरमा बन्ने यो फिल्ममा छायाँकार शैलेन्द्र डी कार्की, संगीतमा एसडी योगी, गीत रचनामा सुरेन्द्र राना र राम अविरल विष्ट छन् भने निर्माणमा ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्र भट्टचनसहितको टोली जुटेको छ।
‘जलाकी’ले प्रेम, पहिचान र संस्कृति समेट्दै नेपाली सिनेमा क्षेत्रमा मौलिक प्रयोगको उदाहरण दिनसक्ने सम्भावना बोकेको छ।
Super Admin
>