ताजा खबर
बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’को प्रभावका कारण कात्तिक १३ र १४ गते झरी पर्ने पूर्वानुमान गरिएको थियो । मौसमविद्हरूले १५ गतेदेखि आकाश खुल्ने बताएका थिए । तर पूर्वानुमान विपरीत, १५ गते शनिबार र १६ गते आइतबार बिहानसम्म पनि काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी भूभागमा हल्का वर्षा र बाक्लो बादल कायम रह्यो ।
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार अहिले कुनै नयाँ मौसमी प्रणाली सक्रिय नभए पनि ‘मोन्था चक्रवात’ र अरब सागरको न्यून चापीय अवशेषले बादल हट्न नसकेको हो । अर्का मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार पश्चिम, दक्षिण र पूर्व तीनै दिशाबाट जलवाष्पयुक्त वायु प्रवेश गरेकाले झरी लम्बिएको हो ।
उनका अनुसार ‘मोन्था’ कमजोर भइसकेपछि पश्चिमी वायुसँग मिसिँदा ठूलो संयुक्त प्रणाली बनेको छ, जसलाई अर्को नयाँ चक्रवातीय प्रणालीले उल्टो दिशातर्फ धकेल्यो । यसबीच, अरब सागरको अर्को प्रणाली पनि उत्तर–पूर्व सर्दै नेपाल नजिक आइपुगेको छ ।
तीनै तर्फबाट जलवाष्पको दबाब परेकाले हाल व्यापक बादल रहँदै वर्षा भइरहेको बताइएको छ । यद्यपि मौसमविद्हरूले अब क्रमशः आकाश खुल्दै जाने अनुमान गरेका छन् ।
Super Admin
>