ताजा खबर
वर्षौँसम्म टेलिभिजन टीआरपीमा राज गरेको कपिल शर्माको चर्चित कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’ ओटीटीमा ‘द ग्रेट इन्डियन कपिल शो’ का रूपमा आएको केही समयमै दर्शक घट्न थालेका छन् । नेटफ्लिक्समा प्रसारित यो शोको तेस्रो सिजनले दर्शक तान्न कठिनाइ भोगिरहेको छ ।
सिजन ३ का पाँच एपिसोडहरू सार्वजनिक भइसकेका छन् । तर शोको प्रारम्भिक सफलता पछिल्लो एपिसोडहरूमा कायम रहन सकेको छैन । पहिलो तीन एपिसोड नेटफ्लिक्सको विश्वव्यापी गैर–अंग्रेजी टप १० मा परे पनि पछिल्ला दुई एपिसोड सूचीबाट हटिसकेका छन् ।
सुरुमा चमक, पछि मन्दी
सिजनको पहिलो एपिसोडमा सलमान खान अतिथि थिए, जसले १६ लाख भ्यूज पायो र १९ लाख घण्टा हेरिएको थियो । दोस्रो एपिसोडमा ‘मेट्रो इन दिनों’ का कलाकार आएका थिए, जसले पहिलो दुई हप्तामा संयुक्त २० लाख भ्यूज पाएको बताइएको छ ।
तर तेस्रो हप्तामा क्रिकेटर गौतम गम्भीर, युजवेन्द्र चहल र ऋषभ पन्त आएपछि दर्शक सङ्ख्या १२ लाखमा झर्यो । चौथो र पाँचौँ एपिसोड त झन् नेटफ्लिक्सको ग्लोबल चार्टबाटै हराए ।
दर्शक तान्न नयाँ रणनीति
दर्शक घटिरहे पनि शो अझै पनि नेटफ्लिक्स भारतको शीर्ष लोकप्रिय कार्यक्रममध्ये एक हो । तर विश्वव्यापी दर्शकसंख्या घटेपछि अब नेटफ्लिक्स र मेकरहरू नयाँ रणनीति अपनाउने तयारीमा छन् ।
आउँदो एपिसोडमा कन्टेन्ट क्रिएटरहरू – राज शमानी, सौरभ द्विवेदी, कामिया जानी र समदिश भाटियालाई ल्याएर शोमा विविधता र नयाँपन दिन खोजिएको छ ।
ओटीटीको प्रतिस्पर्धी बजारमा दर्शकको ध्यान खिच्नका लागि पुराना गिमिक भन्दा बाहिर निस्कन कपिल शर्मा र उनकी टिम तयार देखिन्छन् । अबको भाग्य दर्शकको प्रतिक्रिया र कन्टेन्टको नवीनतामै भर पर्नेछ ।
Super Admin
>