ताजा खबर
काठमाडौँ । गृह मन्त्रालयले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेका ४५ जना शाखा अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा खटाएको छ। अध्यागमन सुधारको प्रयासस्वरूप उनीहरूलाई तालिम दिएर सोमबारदेखि काममा खटाइएको हो।
गृह मन्त्री रमेश लेखकको सचिवालयले उपलब्ध गराएको जानकारी अनुसार, तीन दिने विशेष तालिमपछि ४५ जना अधिकृत सोमबारबाट अध्यागमन कार्यालयमा परिचालन गरिएका हुन्। उनीहरूसँगै सहसचिव नरहरि घिमिरेलाई प्रमुखको रूपमा विमानस्थलमा पठाइएको छ। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत कार्यरत थिए।
विगतमा अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरूलाई मन्त्रालयले फिर्ता बोलाएको थियो भने अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा नयाँ अधिकृतलाई पुनः खटाइएको हो। गृह मन्त्रालयका उपसचिव सुरेश जोशीका अनुसार दरबन्दीभन्दा बढी भएमा उनीहरूलाई अन्यत्र सरुवा गरिनेछ।
अध्यागमन कार्यालय विगत केही समयदेखि विवादमा तानिएको छ। सात जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयमा छापा मारेर मानव तस्करीमा संलग्न भएको आशंकामा तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेको थियो। सो प्रकरणमा अझै छानबिन जारी छ। यस्तै घटनाको पृष्ठभूमिमा सरकारले पनि पूर्वसचिव शंकरदास वैरागीको नेतृत्वमा अनुसन्धान समिति गठन गरिसकेको छ।
सरकारले अध्यागमन प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउन नयाँ अधिकृतको परिचालनसँगै सुधारको प्रयास थालेको हो। विमानस्थल अध्यागमनको सेवा गुणस्तरमा सुधार ल्याउने अपेक्षा राखिएको छ।
Super Admin
>