ताजा खबर
काठमाडौं, साउन १५ – नेपाली समाजमा आजको दिन खिर खाएर मनाइँदै छ, जुन परम्परा प्राचीन समयदेखि जरा गाडेर बसेको सांस्कृतिक अभ्यास हो। वर्षा ऋतुको बीचमा पर्ने असार १५ मा दही-च्युरा र साउन १५ मा खिर खाने चलन मौसम, कृषि, स्वास्थ्य र धार्मिक मान्यतासँग गाँसिएको छ। विशेषतः साउने झरीको चिसोमा तातो खिरले शरीरलाई तातोपन दिन्छ, रोग प्रतिरोधात्मक शक्ति बढाउँछ भन्ने विश्वास छ। दूधमा विभिन्न मसला र परिकार मिसाएर बनाइने खिर स्वादमा मात्र होइन, पोषणमा पनि भरपुर मानिन्छ।
धार्मिक दृष्टिले पनि खिरको विशेष स्थान छ। संस्कृत भाषामा ‘पायस’ भनिने खिरलाई वैदिक सनातन परम्परामा सात्विक आहारको रुपमा मानिन्छ, जसलाई पितृ कार्य र देवकार्यमा विशेष महत्व दिइएको छ। धर्मशास्त्रविद्हरूका अनुसार ऋषि-मुनिको पालादेखि श्राद्ध वा धार्मिक अनुष्ठानमा ब्राह्मणलाई पायस खुवाउने चलन थियो, जुन आज पनि कायम छ।
साउन शिवको महिना मानिने भएकाले पनि दूधजन्य परिकार चढाउने परम्परा जोडिएको छ। भगवान् शिवलाई मन पर्ने खानेकुरा भन्दै खिर चढाउने र पछि परिवार तथा आफन्तबीच बाँडेर खाने चलन रहिआएको छ।
खिर बनाउने तरिका पनि समयअनुसार फरक देखिन्छ। चामल, मकै, गाजर, सेवइ, सावधाना जस्ता सामग्रीले बनाइएको खिर स्वाद र प्रयोगमा विविधता दिन्छ। विशेषगरी हरियालीको समय भएकाले गाई-भैंसीले धेरै दूध दिने, खेतपातीको काम सर्ने र सामाजिक मेलमिलापको समय पनि यही भएकाले साउन १५ लाई उत्सवकै रुपमा मनाउने गरिएको पाइन्छ।
दुग्ध विकास बोर्डले पनि साउन १५ लाई औपचारिक रूपमा ‘खिर दिवस’को रुपमा मनाउने निर्णय गरेर यसको प्रचारप्रसार बढाएको छ। पोषण विज्ञानअनुसार १०० ग्राम प्रशोधित दूधमा झन्डै ६० क्यालोरी ऊर्जा हुन्छ, जसमा चिल्लो, प्रोटिन र ल्याक्टोजको सन्तुलित मात्रा पाइन्छ।
नेपाली समाजमा मौसमी खाद्य परम्पराहरू– असारमा दही-च्युरा, साउनमा खिर, भदौमा पोलेको मकै, पुसमा घिउ-खट्टे र माघमा मालपुवा लगायत परिकार खानु मात्र खाना होइन, साझा संस्कृतिको उत्सव हो। यी परम्पराहरूले केवल स्वाद होइन, सम्बन्ध पनि बलियो बनाउने कार्य गरिरहेका छन्।
Super Admin
>