ताजा खबर
७ असोज, कञ्चनपुर । भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीका गर्भवती आज पनि स्वास्थ्य संस्थाको पहुँच नहुँदा घरमै सुत्केरी हुन बाध्य छन् । बस्तीबाट आठ किलोमिटर टाढा ब्रह्मदेवमा बर्थिङ सेन्टर भए पनि त्यहाँ पुग्न जोखिमपूर्ण कच्ची बाटो पार गरेर दुई घण्टा पैदल जानुपर्ने भएकाले सेवा लिन कठिन भएको स्थानीय बताउँछन् ।
सरकारले घरमा सुत्केरी दर शून्यमा झार्ने अभियान चलाए पनि यो बस्तीमा भने कार्यान्वयन हुन सकेको छैन । गर्भवतीलाई स्टेचरमा बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउनुपर्ने बाध्यता छ । कतिपय अवस्थामा बाटोमै नवजात शिशु जन्मिएको स्वास्थ्य स्वयंसेविका विमला बमले बताइन् ।
गाउँघर क्लिनिक भए पनि त्यहाँका अनमी डेढ वर्षदेखि सुत्केरी बिदामा गएर फर्केका छैनन् । उनका अभावमा खोप र भिटामिनजस्ता नियमित सेवा अवरुद्ध भएको छ । ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट महिनामा एकपटक मात्रै स्वास्थ्यकर्मी आउँछन् । “यहाँ बाटोको समस्या छ, खानेपानीसम्म छैन, दैनिक २५–३० जना सेवाग्राहीलाई सेवा दिन निकै कठिन छ,” अहेब नारायण बोहराले भने ।
स्थानीयले बस्ती नजिकै बर्थिङ सेन्टर स्थापना गर्न माग गरेका छन् । सुगम जिल्ला भनेर चिनिने कञ्चनपुरमै सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युतजस्ता आधारभूत सेवाबाट वञ्चित यस बस्तीमा गर्भवती र आमाबच्चाको जीवन निरन्तर जोखिममा छ ।
Super Admin
>