ताजा खबर
गुल्मी — गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–५ धुर्कोट अमराईमा शनिबार राति भीषण आगलागीमा परेर एक महिलाको ज्यान गएको छ। राति करिब ३ बजे मनिदेवी वि.क.को कच्ची घरमा अचानक आगो लाग्दा उनकी ३० वर्षीया छोरी जुना वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन्।
ढुंगामाटोले बनेको एकतले टिनको छानो भएको घरमा आगलागी हुँदा मानसिक रुपमा अस्वस्थ बताइएकी जुना वि.क. घरभित्रै परेर जलेर मृत अवस्थामा फेला परेकी हुन्। घटना हुँदा घरमै रहेका जुना वि.क.की आमा मनिदेवी वि.क. र उनका दुई नाति १२ वर्षीय श्रीधर वि.क. र ११ वर्षीय अरुण वि.क. भने सकुशल बाहिरिन सफल भएका छन्।
आगलागीको कारण खुल्न सकेको छैन। बिहान ५:४५ बजे घटना सम्बन्धी जानकारी पाएपछि प्रहरी चौकी धुर्कोटबस्तुबाट टोली खटिएको थियो। स्थानीयवासीको सहयोगमा आगो साढे ६ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा टोली घटनास्थल पठाइएको छ।
Super Admin
>