ताजा खबर
३० भदौ, पोखरा । जेन-जी आन्दोलनका क्रममा सामाजिक सञ्जालमा भडकाउने खालको स्टाटस लेखेको आरोपमा पर्वत फलेवास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारी पक्राउ परेका छन्।
२४ भदौमा आन्दोलनकारीहरूले निजी तथा सरकारी संरचना तोडफोड र आगजनी गरिरहेका बेला तिवारीले फेसबुकमा लेखेको स्टाटसले आन्दोलनलाई अझै उग्र बनाउन सहयोग गरेको आरोप छ। पर्वत प्रहरी प्रमुख डीएसपी रविन विष्टलाई समेत नामसहित कारबाही गर्नुपर्ने भन्दै तिवारीले लेखेको स्टाटसलाई आधार बनाएर उनलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत मुद्दा दायर गरिएको हो।
डीएसपी विष्टका अनुसार, “देशभर जेन-जी आन्दोलनका नाममा सरकारी संरचनामा क्षति भइरहँदा पर्वतमा वडाध्यक्षकै भूमिका भड्काउने खालको देखियो, त्यसैले पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको हो।”
तर नेपाली कांग्रेसका नेताहरूले यो गिरफ्तारीलाई प्रतिशोधमूलक भन्दै तिवारीलाई तत्काल रिहा गर्न दबाब दिइरहेका छन्। पर्वतमा कांग्रेस, एमाले र माओवादीका कार्यालय जलेका छन् भने एमाले नेता पदम गिरीको घरमा आगजनी र कांग्रेस नेता अर्जुन जोशीको घरमा तोडफोड भएको छ।
यसबीच, आन्दोलनका क्रममा पर्वत कारागारसमेत तोडफोड हुँदा १९ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये ९ जनालाई पक्राउ गरिएको र बाँकीलाई खोजी भइरहेको प्रहरीले जनाएको छ।
Super Admin
>