ताजा खबर
काठमाडौं । नेकपा एमालेले भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने विधान महाधिवेशनको तयारी तीव्र बनाएको छ। बुधबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशन व्यवस्थापनका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोकेको हो।
महाधिवेशनमा करिब २,२७९ जना प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ। उनीहरू मध्ये कतिले पार्टी छाडे, कतिको निधन भयो भन्ने विवरण संकलनको जिम्मा संगठन विभागलाई दिइएको छ। केन्द्रीय कार्यालय प्रमुख डा. भिष्म अधिकारीले यो जिम्मेवारीको पुष्टि गरेका छन्।
स्वास्थ्य व्यवस्थापनको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ भने स्वयंसेवक परिचालनको कार्य भानुभक्त ढकालले सम्हाल्ने छन्। सचिवालय र खाना व्यवस्थापन डा. अधिकारीकै जिम्मामा छ भने मञ्च तथा यातायातको संयोजन विनोद श्रेष्ठले गर्ने छन्।
महाधिवेशन प्रचार-प्रसारको दायित्व राजेन्द्र गौतमलाई दिइएको छ भने स्वागत तथा साँस्कृतिक कार्यक्रम हेमराज राईको नेतृत्वमा हुनेछ।
प्रतिनिधिहरूले आवास आफैं मिलाउनुपर्ने भनिएको छ, तर असमर्थ प्रतिनिधिका लागि सम्बन्धित प्रदेश वा जिल्ला सम्पर्क समन्वय कमिटीमार्फत व्यवस्थापन गरिनेछ। यसका लागि लालबाबु पण्डितलाई जिम्मेवारी दिइएको छ।
विधान महाधिवेशन केवल संगठनात्मक छलफलको अवसर मात्र नभई एमालेका लागि नेतृत्व र नीतिगत दिशाको पुनः निर्धारण गर्ने महत्त्वपूर्ण मञ्च बन्ने देखिएको छ।
Super Admin
>