२०२६-०६-१३
डेंगु मात्र होइन, जेइ र हैजा पनि त्रास: नेपाल सरुवा रोगको ‘म्याराथन’मै>
Action

डेंगु मात्र होइन, जेइ र हैजा पनि त्रास: नेपाल सरुवा रोगको ‘म्याराथन’मै

नेपालमा डेंगुको संक्रमण व्यापक हुँदै गर्दा अन्य घातक सरुवा रोगहरू पनि तिब्ररुपमा  फैलिरहेका छन् । स्वास्थ्य विज्ञहरूले डेंगुसँगै जापानिज इन्सेफलाइटिस (जेइ), हैजा र स्क्रब टाइफसले जनस्वास्थ्यमा गम्भीर संकट थपेको चेतावनी दिएका छन् ।  यस्ता रोगसँग लड्न अलगअलग हैन, समग्र र एकीकृत रणनीति आवश्यक रहेको उनीहरूको भनाइ छ ।

परिवार कल्याण महाशाखाका अनुसार यस वर्ष १०३ जना जापानिज इन्सेफलाइटिस संक्रमित फेला परेका छन्, जसमा २० जनाले ज्यान गुमाएका छन् । यसअघि मुख्यत: तराईमा देखिने यो रोग अहिले पहाडी जिल्लामा समेत पसरिसकेको छ । संक्रमितमध्ये धेरैजसो किसान तथा धानखेत वा सुँगुर फार्म नजिकका बासिन्दा छन्, जहाँ रोग सार्ने क्यूलेक्स लामखुट्टे बढी पाइन्छ । मृत्यु हुनेहरूमा अधिकांश ४० वर्षभन्दा माथिका छन् । यो रोगको गम्भीरता यसमा छ कि संक्रमितमध्ये झन्डै एक तिहाइको मृत्यु हुन्छ भने बाँचेका मध्ये आधा जति स्थायी अपाङ्ग हुने खतरा हुन्छ । 

यसैगरी मधेस प्रदेशमा हैजाको प्रकोप पनि नियन्त्रणबाहिर जान थालेको छ । पछिल्लो २४ घण्टामै ११५ नयाँ बिरामी थपिएका छन् । हालसम्म ५४० जनामा संक्रमण पुष्टि भइसकेको छ र ३ जनाले ज्यान गुमाएका छन् । वीरगञ्जका अस्पतालहरूमा सयौँ बिरामी उपचाररत छन् । हैजा उपचार गर्न सकिने भए पनि समयमा अस्पताल नपुगे मृत्यु दर धेरै हुने जोखिम हुन्छ ।

यस्तै, स्क्रब टाइफस पनि बढ्दो खतरा बनेको छ, जसले हालसम्म दुई हजारभन्दा बढीलाई संक्रमित गरिसकेको छ । डेंगु, जेइ, हैजा र स्क्रब टाइफसको फैलावटलाई सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ‘म्याराथन’ सँग तुलना गरेका छन् । उनका अनुसार, कुन रोग कहिले अगाडि सर्छ भन्ने अनिश्चितताले स्वास्थ्य प्रणालीलाई ठूलो चुनौती दिएको छ ।

चिकित्सकहरूले सरसफाइ, शुद्ध पानीको प्रयोग र लामखुट्टेको टोकाइबाट जोगिनु नै अहिलेको प्रभावकारी उपाय भएको जनाएका छन् । नेपालमा एकपछि अर्को फैलिरहेको सरुवा रोगले जनस्वास्थ्य तयारी अझ सुदृढ र दीर्घकालीन बनाउनुपर्ने संकेत दिएको छ ।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart