ताजा खबर
काठमाडौं । जोखिमका कारण आज साउन १ गतेदेखि बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ। काभ्रेभञ्ज्याङदेखि सिन्धुली सिमानास्थित नेपालथोकसम्मको सडक खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म १२ घण्टा सवारी चलाउन नपाइने निर्णय जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सुरक्षा समिति बैठकले असार मसान्तमा पनि यस्तो रोक लागू गरेपछि अब साउन महिनासम्म निरन्तरता दिने निर्णय गरिएको हो। बर्खामा बाढी र पहिरोको उच्च जोखिम रहेकाले सावधानीस्वरूप यो निर्णय लिइएको हो।
गत वर्षको बाढीले काभ्रे–सिन्धुली सीमावर्ती क्षेत्रको करिब ८ किलोमिटर सडक बगाएको थियो। अहिले उक्त भागमा अस्थायी सडक प्रयोग भइरहेको छ। डिभिजन सडक कार्यालयका अनुसार सिन्धुलीको खुर्कोटदेखि काभ्रेको धुलिखेलसम्मको ८४ किलोमिटर क्षेत्रमा बाढीपहिरोले धेरै स्थानमा क्षति पुर्याएको छ।
पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने यो छोटो र व्यस्त राजमार्गमा दैनिक सयौं सवारी साधन आवतजावत गर्ने गर्छन्। स्थायी मर्मतका लागि चार खण्डमा ठेक्का प्रक्रियासमेत सुरु भइसकेको जनाइएको छ।
Super Admin
>