ताजा खबर
लण्डनमा शनिबार एक लाखभन्दा बढी मानिसहरू सडकमा निस्किए। रोयटर्सका अनुसार करिब १ लाख ५ हजार मानिस सडकमा उत्रिएका यस प्रदर्शनलाई हालसम्मका ठूला प्रदर्शनमध्ये एक मानिएको छ।
प्रदर्शनकारीहरूले बेलायत, इंग्ल्याण्ड, अमेरिका र इस्राइलका झण्डा बोकेका थिए भने कतिपयले डोनाल्ड ट्रम्प समर्थक ‘मेक अमेरिका ग्रेट अगेन’ टोपी लगाएका थिए। उनीहरूले “आप्रवासीलाई घर फर्काउ”, “अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर” जस्ता नारा दिएका थिए।
यो प्रदर्शन आप्रवासीविरोधी अभियानी टमी रबिन्सनको आह्वानमा भएको हो। उनले समर्थकलाई सम्बोधन गर्दै “लन्डनमा सांस्कृतिक क्रान्ति सुरु भएको” दाबी गर्दै देशप्रेमको तुफान उठेको बताएका थिए।
साउथवार्कदेखि ह्वाइटहलसम्म गरिएको मार्चका कारण केन्द्रीय लन्डनको यातायात ठप्प भयो। पसल, रेस्टुरेन्ट, कार्यालय बन्द भए भने सडकमा रहेका सवारी साधन लामो जाममा अड्किए। ठूलो भिड देखेर पर्यटकहरू समेत अचम्ममा परेको रोयटर्सले उल्लेख गरेको छ।
तर प्रदर्शन शान्त रहेन। प्रदर्शनकारीहरूले बाटो परिवर्तन गर्न खोज्दा प्रहरीसँग झडप भयो। उनीहरूले बोतल, ढुंगा र फ्लेयर प्रहार गर्दा २६ जना प्रहरी घाइते भए, जसमा ४ जनाको अवस्था चिन्ताजनक छ। प्रहरी अधिकारी म्याट ट्वीस्टका अनुसार २५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ।
उही ठाउँमा आप्रवासी समर्थक प्रदर्शन पनि भएको थियो, जसको नेतृत्व शिक्षक बेन हेचिकले गरेका थिए। उनीहरूले “घृणा अन्त्य गरौं, आप्रवासीलाई स्वागत गरौं” भन्ने नारा दिए। हेचिकले भने, “हाम्रो देशलाई घृणाले विभाजित गरिरहेको छ। आप्रवासीलाई अंगाल्दा मात्र हामी बलिया हुन्छौं।”
प्रहरीले दुई पक्षीय भिड नजोडियोस् भनेर १,६०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको थियो। यद्यपि भिड अनियन्त्रित बन्न खोज्दा झडप अनिवार्य भएको हो।
प्रदर्शनमा बाहिरी प्रतिक्रिया पनि देखियो। टेस्लाका मालिक इलन मस्कले भिडियोमार्फत सम्बोधन गर्दै आप्रवासीविरोधी आन्दोलनलाई समर्थन जनाए। उनले संसद विघटन गरी तत्काल सरकार परिवर्तन हुनुपर्ने मागसमेत गरे।
Super Admin
>