ताजा खबर
काठमाडौं । अमेरिका झन्डै एक करोड अमेरिकी डलर मूल्य बराबरका परिवार नियोजनका साधनहरू फ्रान्समा लगेर जलाउने तयारीमा रहेको छ।
अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी (USAID) कार्यक्रममार्फत वितरण गर्न खरिद गरिएका गर्भनिरोधक चक्की, इम्प्लान्ट र आइयुडीज जस्ता सामग्रीहरू बेल्जियमको गोदाममा महिनौंदेखि थन्किएर बसेका छन्। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सहायता रोक्ने निर्णय गरेपछि ती सामग्री प्रयोगमै आउन नपाई नष्ट गरिने अवस्थामा पुगेका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, ती सामग्री फ्रान्सको एक मेडिकल फोहोर जलाउने केन्द्रमा दर्जनौं ट्रकमार्फत पठाएर जलाउने तयारी भइरहेको छ। यस कार्यका लागि मात्रै १ लाख ६० हजार अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ।
युएनएफपिए, MSI Reproductive Choices लगायतका संस्थाहरूले ती सामग्री नष्ट नगरी आफ्नै खर्चमा विश्वका गरिब देशहरूमा पु¥याउने प्रस्ताव राखेका थिए। तर अमेरिकी प्रशासनले ती सबै प्रस्ताव अस्वीकार गरेको छ।
एमएसआईका एक अधिकारीले भनेका छन्, “यो आर्थिक भन्दा पनि वैचारिक मुद्दा हो। गर्भनिरोधक नपाउँदा लाखौं महिलाहरू असुरक्षित गर्भपतनतर्फ धकेलिने छन्।”
बेल्जियम सरकारले समेत ती सामग्री जोगाउन अमेरिकासँग समन्वय गरेको जनाएको छ। तर अन्ततः व्यावहारिक समाधान निस्कन नसकेको अधिकारीहरू बताउँछन्।
यो निर्णयलाई महिलाको प्रजनन अधिकारमाथिको हस्तक्षेप भन्दै तीव्र आलोचना भइरहेको छ। अमेरिकी संसदमा सामग्री नष्ट हुन नदिन दुई विधेयक दर्ता गरिए पनि ती पास नहुन्जेल नष्ट गर्ने प्रक्रिया रोकिने सम्भावना न्यून देखिएको रोयटर्सले जनाएको छ।
विश्लेषकहरूका अनुसार, यो घटनाले अमेरिकी वैदेशिक सहायता नीतिमा बढ्दो राजनीतिक हस्तक्षेप, र महिलाको स्वास्थ्य अधिकारप्रति कमजोर प्रतिबद्धता देखाउँछ।
Super Admin
>