ताजा खबर
काठमाडौं । नेपाली संगीत क्षेत्रले आज एउटा अमूल्य धरोहर गुमाएको छ। विविध भाषा र भाकामा हजारभन्दा बढी गीतमा स्वर भरेकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको ५८ वर्षको उमेरमा निधन भएको छ।
बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनले अन्तिम सास फेरेकी हुन्। गायक तथा गीतकार फूलकुमार तामाङका अनुसार इन्दिरा पछिल्ला दुई वर्षदेखि क्यान्सरको पीडामा थिइन्। हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी दुई सातादेखि घरमै आराम गरिरहेकी थिइन्।
ललितपुरको भर्देउमा १९६६ अक्टोबर १९ मा जन्मिएकी गोले तामाङ समुदाय मात्र नभई सम्पूर्ण नेपाली संगीतप्रेमीका लागि प्रेरणादायी कलाकार थिइन्। उनले तामाङ सेलो, लोकदोहोरी र आधुनिक शैलीमा करिब पाँच हजारभन्दा बढी गीतमा आवाज दिएकी छन्। ‘चाँगुनारायण थान’, ‘जाइफूलको बासना’, ‘घर त छाउनीमा’, ‘सफा ट्याम्पुरी’, ‘गाङ ग्याब्सेला’ जस्ता गीतमा उनको स्वर आज पनि सदाबहार छ।
रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेपछि उनको सांगीतिक यात्रा सुरु भएको थियो। त्यसपछि उनले लोकसंगीतलाई मात्र होइन, तामाङ गीतलाई पनि राष्ट्रिय स्तरमा स्थापित गर्दै विश्वभर फैलाउने महत्वपूर्ण भूमिका खेलेकी थिइन्। तामाङ कलाकार समाजकी पूर्वअध्यक्ष समेत रहेकी उनले आफ्ना गीतमार्फत संस्कृतिको संरक्षण र प्रवर्धनमा ठूलो योगदान दिइन्।
गोलेले आफ्नो जीवनमा असंख्य श्रोतालाई संगीतमार्फत खुसी र आत्मीयता दिएको भए पनि निजी जीवन पीडाले भरिएको थियो। उनका श्रीमानको मृत्यु भइसकेको छ भने उनी कान्छी छोरीसँगै हात्तीवनमा बस्दै आएकी थिइन्। उनका दुई छोरी छन्।
उनको पार्थिव शरीरलाई बौद्ध संस्कारअनुसार अन्त्येष्टि गरिने तयारी भइरहेको छ।
संगीतप्रेमीहरूका लागि इन्दिरा गोले गुरुङको स्वर अमर रहिरहनेछ।
Super Admin
>