ताजा खबर
७ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार साढे ३ खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार भदौ मसान्तसम्म ३ खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ बराबरको आयात–निर्यात भएको छ, जुन अघिल्लो आवको सोही अवधिभन्दा २२.५४ प्रतिशतले बढी हो ।
यो अवधिमा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १६.२३ प्रतिशतले बढेको हो । त्यसैगरी निर्यातमा भने झण्डै ८८.५७ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ । यस अवधिमा ४७ अर्ब ३१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, जबकि गत वर्ष सोही अवधिमा २५ अर्ब ९ करोड मात्र थियो ।
निर्यात बढे पनि व्यापार घाटा अझै ठुलै छ । दुई महिनामै २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ बराबरको घाटा देखिएको छ । कुल व्यापारमा आयातको हिस्सा ८६.५८ प्रतिशत र निर्यातको हिस्सा १३.४२ प्रतिशत रहेको छ ।
सबैभन्दा बढी आयात हुने वस्तुमा कच्चा सोयाबिन तेल (२१ अर्ब ६४ करोड), डिजेल (१४ अर्ब ९१ करोड) र डीएपी मल (१३ अर्ब ६६ करोड) रहेका छन् । पेट्रोल, एलपी ग्यास र स्मार्टफोन पनि ठुलो परिमाणमा आयात भएका छन् ।
निर्याततर्फ सोयाबिन तेल (२० अर्ब ४२ करोड), वनस्पति तेल, कार्पेट, कफी र चिया अग्रस्थानमा छन् ।
व्यापारमा नेपालका लागि भारत सबैभन्दा ठुलो साझेदार बनेको छ । नेपालले भारतबाट १ खर्ब ७३ अर्ब रुपैयाँको सामान आयात गरेको छ भने ३८ अर्ब ३५ करोड रुपैयाँको निर्यात गरेको छ । चीन र अमेरिका क्रमशः दोस्रो र तेस्रो मुख्य व्यापारिक साझेदार रहेका छन् ।
Super Admin
>