ताजा खबर
३१ भदौ, म्याग्दी । तीन दिनदेखि अवरुद्ध बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा आइतबार बिहान पहिरो खसेपछि ७६ किलोमिटर लामो यो सडक पूर्ण रूपमा बन्द भएको थियो। नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरी ठूला ढुङ्गा फुटाइएका र त्यसपछि डोजरमार्फत माटो–ढिस्को पन्छाएर गए राति करिब १० बजे सडक खुलाइएको घाँसा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मीनबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार सडक आयोजना कार्यालयका प्राविधिक, नेपाली सेना र सुरक्षाकर्मीले रातिसम्म खटेर काम गरेपछि सडक सञ्चालनमा आएसँगै मुस्ताङको घाँसा र म्याग्दीको काभ्रेमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
सडक अवरुद्ध हुँदा चीनको कोरलानाकाबाट सामान ल्याएका कन्टेनर र मुस्ताङका स्याउ तथा आलु बोकेका मालबाहक ट्रकहरू समेत थुनिएका थिए। सोह्रश्राद्धका अवसरमा मुस्ताङको कागबेनीमा पितृतर्पणका लागि देशका विभिन्न भाग र भारतबाट आएका तीर्थयात्री, स्थानीयवासी र पर्यटक पनि बाटो खुल्न पर्खिरहेका थिए।
सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका बन्द भएपछि दसैंको तयारीका लागि आवश्यक दैनिक उपभोग्य सामग्री कोरलानाकामार्ग हुँदै नेपाल भित्र्याइँदै आएको छ। यस कारण बेनी–जोमसोम सडक खण्डमा सवारीसाधनको चाप अत्यधिक बढेको स्थानीय प्रशासनले जनाएको छ।
Super Admin
>