२०२६-०६-१४
सेयर बजारमा आगजनीको प्रभाव>
Action

सेयर बजारमा आगजनीको प्रभाव

२ असोज, काठमाडौं । भदौ २४ मा भएको आगजनी, तोडफोड र लुटपाटका घटनाले सेयर बजारमा सूचीकृत करिब दुई दर्जन कम्पनीलाई असर पुर्‍याउने देखिएको छ। प्रत्यक्ष रूपमा तीनवटा पब्लिक कम्पनी—तारागाउँ रिजेन्सी होटल, चन्द्रागिरि हिल्स र नेपाल टेलिकम—को संरचनामा क्षति पुगेको छ।

नेपाल बैंकर्स संघका अनुसार विभिन्न बैंकका शाखा र एटीएममा तोडफोड हुँदा अप्रत्यक्ष रूपमा निर्जीवन बीमा, पुनर्बीमा कम्पनी र होटल व्यवसाय बढी प्रभावित भएका छन्। अहिलेसम्म ३० अर्ब रुपैयाँ हाराहारीमा दाबी दर्ता भइसकेको छ, जुन अझै बढ्ने अनुमान छ।

होटल र पर्यटनमा ठूलो धक्का

तारागाउँ रिजेन्सी होटल (हायात)को क्यासिनो भवनमा आगजनी हुँदा तत्कालीन सञ्चालन असहज भएको छ। चन्द्रागिरि हिल्सको तल्लो स्टेशनमा आगजनीले केबुलकार सेवा ठप्प भएको छ। यी घटनाले सोल्टी, ओरियन्टल, सिटी होटल र कालिन्चोक दर्शनलगायत होटल–पर्यटन समूहका अन्य कम्पनीलाई पनि अप्रत्यक्ष असर गर्नेछ। पर्यटन सिजनको मुखैमा भएको घटनाले विदेशी पाहुनाको मनोविज्ञानमा नकारात्मक असर पारेको होटल संघ नेपाल (हान)को मूल्यांकन छ।

बीमा कम्पनीमाथि ३० अर्बको दाबी

सूचीकृत १३ निर्जीवन बीमा कम्पनीलाई प्रत्यक्ष असर पुगेको छ। भवन, सवारीसाधनदेखि सुनजस्ता मूल्यवान वस्तु नष्ट हुँदा दाबी रकम ३० अर्बसम्म पुगेको छ। नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, हिमालयन एभरेस्ट, शिखरलगायतका कम्पनीमा ठूलो दाबी परेको छ। बीमा कम्पनीहरूले जोखिमको केही हिस्सा पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्ने भएकाले नेपाल र हिमालयन पुनर्बीमामा अझ ठूलो दबाब पर्न सक्नेछ।

टेलिकमको संरचना ध्वस्त

नेपाल टेलिकमका वीरगन्जसहितका कार्यालयमा क्षति पुगेको छ। केही रिचार्ज कार्ड जलेका वा चोरी भएका छन्। घटनापछि टेलिकमले तीन दिन निशुल्क कल सेवा दिएको थियो।

सिमेन्ट कम्पनीलाई सकारात्मक प्रभाव

विध्वंसपछि नयाँ संरचना निर्माण गर्नुपर्ने भएकाले सिमेन्ट उद्योगलाई फाइदा हुने अनुमान छ। सेयर बजारमा सूचीकृत शिवम्, सर्वोत्तम, घोराही र सोनापुर सिमेन्ट कम्पनीको माग बढ्नेछ।

बैंकिङ क्षेत्रमा मध्यम असर

देशभर ६१ बैंक शाखा क्षतिग्रस्त भए पनि वित्तीय कारोबारमा ठूला अवरोध छैन। तर क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि कर्जा प्रवाह बढ्ने भएकाले बैंकको बिजनेसमा मध्यम रूपमा सकारात्मक असर पर्न सक्ने अनुमान छ।

हाइड्रोपावर सुरक्षित

सेयर बजारमा सबैभन्दा धेरै ९४ हाइड्रोपावर कम्पनी भए पनि हालैका घटनामा कुनै पनि आयोजना वा कार्यालयमा क्षति भएको छैन। ग्रामीण क्षेत्रमा रहेका आयोजनाले यस्तो जोखिमबाट आफूलाई जोगाउन सकेका छन्।

Super Admin

Related Post

About Us

The argument in favor of using filler text goes something like this: If you use arey real content in the Consulting Process anytime you reachtent.

Instagram

Cart