ताजा खबर
काठमाडौं — राजधानीको रात्रिकालीन क्षेत्र ठमेल फेरि एकपटक चर्चामा आएको छ, र यसपटक पनि कारण उही – सानुभाइ भनिने युवराज गुरुङ। बुधबार राति ठमेलस्थित नगरकोट दोहोरी साँझमा झगडा गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं प्रहरी परिसरका एसपी कुलदीप चन्दका अनुसार, सार्वजनिक स्थानमा झगडा गरेपछि उनलाई तत्कालै पक्राउ गरिएको हो।
सानुभाइ कुनै नौलो नाम होइन – उनी पहिल्यैदेखि गुण्डागर्दी, असुली र हतियार प्रयोगजस्ता मुद्दामा पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन्। २०८० सालको असारमा क्लब ओम्नियामा सञ्चालकमाथि हातपात गरेपछि उनलाई प्रहरीले हत्कडीसहित ठमेल बजार घुमाएको थियो – जनतामा त्रास फैलाउनेको ‘पब्लिक एक्सपोजर’ भनेर त्यो बेला प्रहरी अधिकारीहरुले स्पष्ट पारेका थिए। तर, केही हजार धरौटी तिरेर छुटेका गुरुङ फेरि पनि पुरानै बाटोमा फर्किए, फेरि कुटपिट, फेरि पक्राउ, फेरि छुटाइ।
उनको नाम गुण्डा नाइके कुमार घैंटे समूहसँग समेत जोडिएको छ। घैंटेको २०७२ मा मुठभेडमा मृत्यु भएपछि गुरुङ बुलेट प्रुफ ज्याकेट लगाएर हिँड्न थालेको प्रहरी स्रोत बताउँछ। नुवाकोटबाट २८ बोरको रिभल्वरसहित समातिएको घटनादेखि लिएर गोंगबुमा धारिलो हतियार आक्रमण, दरबारमार्गमा बैंकिङ कसूर, ताज भनिने व्यक्तिलाई पेस्तोल देखाएर कुटपिटसम्म – उनका आपराधिक फाइलहरु लामो छन्।
तर, प्रश्न उठ्छ – यस्ता दोहोरिने अपराधीहरू किन पटकपटक छुटिरहेका छन्? किन उनीहरूलाई सुधारको ठाउँभन्दा अपराध दोहोर्याउने मौका पाइरहेका छन्?
ठमेल झगडामा फेरि पक्राउ परेका सानुभाइको यो केस पनि अदालत र प्रशासनको घुम्ती पार गरेर कहाँ पुग्छ, त्यो हेर्न बाँकी छ। तर नागरिक सुरक्षा, सार्वजनिक शान्ति र अपराध नियन्त्रणप्रति प्रहरीको तत्परता जति देखिन्छ, कानुनी कार्यान्वयन र सुधारको संयन्त्र उति नै कमजोर देखिन्छ।
Super Admin
>