ताजा खबर
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ हालसम्म दुई लाख १८ हजार प्रति बिक्री भएको छ । पुस्तक बिक्रीबाट १२ करोड रुपैयाँ केन्द्रको खातामा जम्मा भइसकेको छ ।
पुस्तकको मूल्य सात सय पचास रुपैयाँ तोकिएको छ । यो रकम वीरगञ्जस्थित औजार कारखाना तथा अन्य आविष्कार कार्यक्रमहरू सञ्चालन गर्न प्रयोग गरिने जानकारी दिइएको छ ।
पुस्तक बिक्रीको सिलसिलामा डा. पुन एक सातादेखि झापामा छन् । उनलाई विभिन्न व्यक्ति तथा संस्थाले निम्त्याएर पुस्तक किन्ने क्रम जारी छ ।
विर्तामोड नगरपालिकाले पनि केन्द्रलाई सहयोग स्वरूप ५० हजार रुपैयाँ बराबरको पुस्तक खरिद गरेको छ । नगरपालिकाका प्रतिनिधिहरूले देश आत्मनिर्भर बनाउने अभियानमा सघाउन पाएकोमा गौरव अनुभूति भएको बताएका छन् ।
त्यस्तै, सहकारी संस्था तथा स्थानीय युवाहरूको अग्रसरतामा विर्तामोड, दमक, बाह्रदशी, बुद्धशान्ति लगायतका पालिकामा पुस्तक किन्ने अभियान चलिरहेको छ ।
कार्यक्रमहरूमा सहभागी हुँदै डा. पुनले युवाहरूलाई सामाजिक सञ्जालमा नेताहरूलाई गाली मात्रै नगरी सकारात्मक क्रियाकलापमा संलग्न हुन आग्रह गरेका छन् । उनले भनेका छन्– देशका लागि सानो भए पनि योगदान दिनुपर्छ ।
उनका अनुसार हाल राष्ट्रिय आविष्कार केन्द्रले १५ प्रकारका कृषि औजारहरू उत्पादन गरिरहेको छ, जसले साना किसानलाई भविष्यमा ठुलो फाइदा पुर्याउने अपेक्षा गरिएको छ ।
Popular Tags:
Super Admin
>