ताजा खबर
काठमाडौं – प्रतिनिधिसभाको मंगलबारको बैठक केहीबेर वातावरण तातेको छ। उपसभामुख इन्दिरा रानाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई लिएर नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदबीच कडा भनाभन भएको हो।
राप्रपाकी सांसद रोशन कार्कीले कांग्रेस–एमालेलाई लक्षित गर्दै उपसभामुखलाई हटाउन योजनाबद्ध रूपमा “खाली कागजमा सही गराएको” आरोप लगाइन्। उनले यसलाई “नौटंकी” भन्दै धिक्कार प्रकट गरिन्। कार्कीले भनिन्, “सही गराउने कस्तो पार्टी? सही गर्ने कस्ता माननीयहरू? धिक्कार होस्।”
उनले दाबी गरिन् कि कांग्रेस–एमालेले संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याएका हुन्, जसको उद्देश्य आफ्ना कार्यकर्तालाई उच्च संवैधानिक पदमा नियुक्त गर्नु हो। यस क्रममा उनले सत्ता साझेदार गृहमन्त्रीमाथि “भिजिट भिसा धन्दा” चलाएको आरोपसमेत लगाइन्।
कार्कीको अभिव्यक्तिपछि एमाले सांसद सूर्य थापाले कडा आपत्ति जनाए। सभामुखमार्फत बोल्दै उनले कार्कीको भनाइ “आरोपपूर्ण, अपमानजनक र लान्छनायुक्त” भएको भन्दै अभिलेखबाट हटाउन माग गरे। थापाले भने, “हामी मण्डलेतन्त्रविरुद्ध लडेर संसदमा आएका प्रतिनिधि हौं। कस्तो कागजमा सही गर्छौं, त्यो हामी आफैंले जानेर–बुझेर गर्छौं।”
सभामुखले थापाको ध्यानाकर्षणलाई स्वीकार गरे पनि कार्कीलाई दोहोर्याएर बोल्ने मौका दिइयो। दोस्रो पटक बोल्दा कार्कीले कांग्रेस–एमालेमाथि फेरि प्रहार गरिन्। उनले दुवै दल देशलाई दुईदलीय शासन प्रणालीतर्फ लैजान खोजिरहेको आरोप लगाइन्। उनले साना दलका सांसदलाई सचेत रहन आग्रह गर्दै उदाहरण दिइन्, “बाघले उपेन्द्र यादवलाई जसरी आक्रमण गर्यो, त्यसैगरी अरू दललाई पनि खान सक्छ।”
उनले संवैधानिक परिषद्मा करिब ५२ पद खाली रहेको उल्लेख गर्दै अहिलेको राजनीतिक खेल त्यसैलाई भरिने प्रयास भएको दाबी गरिन्। उनका अनुसार, “कांग्रेस र एमालेले संसद्को गरिमा गुमाएका छन्।”
प्रतिनिधिसभामा देखिएको यस्तो भनाभनले स्पष्ट पारेको छ कि उपसभामुखसम्बन्धी विवाद केवल पदसम्बन्धी मुद्दा मात्र होइन। यो विवाद ठूला दलको शक्ति सन्तुलन, संवैधानिक नियुक्ति र भविष्यको सत्ता समीकरणसँग गहिरो रूपमा गाँसिएको छ। यसले संसदभित्र राजनीतिक ध्रुवीकरण झनै बढ्दै गएको संकेत दिएको छ।
Super Admin
>