ताजा खबर
२० भदौ, काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सीको जादुई प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोट अन्तर्गत भेनेजुएलामाथि ३–० को विजयी नतिजा निकाल्दै समर्थकलाई खुसी पारेको छ।
शुक्रबार विहान घरेलु मैदानमा भएको खेलमा मेस्सीले दुई गोल गरे भने लाउतारो मार्टिनेजले थप एक गोल गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए। खेलको ३९औं मिनेटमा मेस्सीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको ७६औं मिनेटमा लाउतारोले उत्कृष्ट फिनिसिङ गर्दै अन्तर दोब्बर बनाए। त्यसपछि ८०औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा अर्जेन्टिनाले ३–० को शानदार जित पक्का गर्यो।
पहिले नै विश्वकपमा छनोट भइसकेको अर्जेन्टिना यस जीतसँगै तालिकामा शीर्षस्थानमै रहेको छ। तर, यो खेल अझै विशेष बनाएको कारण भने मेस्सीको सम्भावित अन्तिम घरेलु उपस्थिति हो। अर्जेन्टिनाका समर्थकहरूले उनलाई घरेलु मैदानमा अन्तिमपटक खेलिरहेको हेर्न पाउँदा भावुक बनेका थिए।
३५ वर्षे मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिका र विश्वकप च्याम्पियन बनाउँदै आफ्ना समर्थकलाई अविस्मरणीय खुसी दिएका छन्। अब उनले घरेलु मैदानमा अन्तिम खेल खेल्दै एक युगको सम्झना पुनः ताजा बनाएका छन्।
अर्जेन्टिनाको यो जितले मात्र होइन, मेस्सीको प्रदर्शनले पनि विश्वभरका फुटबल प्रेमीलाई फेरि एकपटक उनी किन महान् छन् भन्ने कुरा सम्झाइदिएको छ।
Super Admin
>