ताजा खबर
कास्कीमा जेनजी आन्दोलनका नाममा प्रहरी कार्यालय तोडफोड, आगजनी र हतियार लुटपाटमा संलग्न समूहमाथि प्रहरीले कारबाही तीव्र पारेको छ।
भदौ २४ गते दोस्रो दिनको आन्दोलनका क्रममा वडा प्रहरी कार्यालय बगरदेखि जिल्ला प्रहरी कार्यालय कास्कीसम्म तोडफोड, आगजनी र लुटपाट भएका थिए। त्यस क्रममा थुनुवा भाग्ने, प्रहरीका हतियार लुटिने र सरकारी संरचना जलाइनेजस्ता घटना भएका थिए।
प्रहरीले हालसम्म १८ जनालाई पक्राउ गरी १० जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता गरेको जनाएको छ। पक्राउ पर्नेमा पूर्णबहादुर नेपाली, राजेश मक्रान्ती, नारायण राई, रुपेश सुनार र दिपु राईलगायत छन्। उनीहरू कार्यालय जलाउने, हतियार लुट्ने र प्रहरीको पोशाकमा अराजकता मच्चाउने आरोपमा अनुसन्धानमा छन्।
कास्की प्रहरीका अनुसार आन्दोलनको नाममा आपराधिक गतिविधिमा संलग्न अधिकांश व्यक्तिहरू पहिले हिरासत वा कारागार भोगेका, दुर्व्यसनी र फरार अभियुक्तहरू हुन्। कास्कीमा २७ वटा प्रहरी कार्यालयसहित ११६ सरकारी कार्यालय जलेर ध्वस्त भएका छन् भने निजी क्षेत्रको क्षति साढे ३ अर्ब रूपैयाँभन्दा बढी अनुमान गरिएको छ।
प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार “हातहतियार लुट्ने र प्रहरी संरचना जलाउने कार्य आन्दोलन होइन, आपराधिक अपराध हो।” प्रहरीले ‘अप्रेशन ३६५’ सञ्चालन गरी फरार अभियुक्तको खोजी र क्षतिपूर्तिका लागि नागरिक सहयोगको आह्वान गरेको छ।
Super Admin
>