ताजा खबर
१ असोज, काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका भवनहरूको मर्मत तथा पुनर्निर्माणका लागि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान चलाउने भएको छ। यस अन्तर्गत स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरेर पुनर्निर्माण अघि बढाउने योजना बनाइएको छ।
मंगलबार सिंहदरबारको मुख्य भवन र गृहमन्त्रालयको स्थलगत निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले अभियानबारे जानकारी दिए। उनले सहरी विकास मन्त्रालयले संरचनामा पुगेको क्षति एकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको पनि बताए।
मन्त्री घिसिङका अनुसार ‘हामी उठ्यौं’ भन्ने सन्देश दिन सामान्य क्षतिग्रस्त भवनहरूको बाहिरी भाग चिटिक्क बनाउन रंगरोगन गर्ने, सिंहदरबार परिसरमा क्षतिग्रस्त सवारी साधन तत्काल हटाउने, क्षतिको मूल्यांकन छिटो गर्ने र त्यसपछि ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियानमार्फत पुनर्निर्माण सुरु गरिनेछ।
‘कार्यालयलाई थोत्रो देखाएर राख्नु भएन, भित्री काम विस्तारै होला तर बाहिरी स्वरूप चिटिक्क बनाउनैपर्छ। क्षतिग्रस्त सवारी साधन यत्रतत्र छरिएका छन्, तत्काल हटाएर व्यवस्थापन गर्नुपर्छ। यसबाट हामी उठ्यौं भन्ने सन्देश समाजमा पुग्छ,’ मन्त्री घिसिङले भने।
Super Admin
>