ताजा खबर
काठमाडौँ । इसराइलले गजामा जमिन र आकाशबाट आक्रमण तीव्र पारेपछि त्यहाँका बासिन्दाहरू आफ्नो थातथलो छाडेर दक्षिणी भूभागतर्फ सर्न थालेका छन्। इसराइली मन्त्रिपरिषद्ले हमासलाई सधैंका लागि अन्त्य गर्ने निर्णय गर्दै सैन्य कारबाही बढाएको हो।
रक्षामन्त्री इसराइल कात्जले गजा "जलिरहेको" दाबी गरेका छन्। शुरूमा बमबारीका बीच पनि गजावासीहरूले बसाइँ सर्ने मनसाय नदेखाए पनि पछिल्लो आक्रमण अन्धाधुन्ध भएपछि उनीहरू झोलीतुम्लो बोकेर रिक्सा, भ्यान र गधामा सामान राखेर पलायन गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
कतारी टेलिभिजन नेटवर्क अल जजिराका अनुसार आइतबार मात्रै इसराइली हमलाबाट ९१ जनाको मृत्यु भएको छ। पछिल्लो सातामा मात्र ५० भन्दा बढी ठूला आवासीय भवन ध्वस्त पारिएको छ। इसराइलले ती भवनहरूमा हमासका लडाकूहरूले बास बसिरहेको र नागरिकलाई ढाल बनाएको आरोप लगाएको छ।
संयुक्त राष्ट्रसंघले गजामा नरसंहार भएको ठहर गर्दै आक्रमणको निन्दा गरेको छ। इसराइलसँग निकट सम्बन्ध रहेका मुलुकहरूले समेत विरोध जनाएका छन्। तर अमेरिकाले भने गजामा हमासविरुद्धको कारबाहीलाई खुलेआम समर्थन गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धकलाई ढाल बनाए हमासले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
हमासको नियन्त्रणमा अझै करिब ५० जना बन्धक रहेको अनुमान छ, जसमा कम्तिमा २० जना जीवित रहेको बताइन्छ। इसराइलले आक्रमण बढाएपछि मृत बन्धकहरूको शवसमेत जोगाउन कठिन भएको हमासले जनाएको छ।
यता, आक्रमण तीव्र बनाउने इसराइली निर्णयप्रति इसराइली जनताले नै असन्तुष्टि जनाएका छन्। उनीहरूले बाँकी रहेका बन्धकहरूको जीवन खतरामा पर्ने भन्दै संवादमार्फत समस्या समाधान गर्नुपर्ने माग गरेका छन्।
Super Admin
>