ताजा खबर
भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा निर्णायक टेस्ट सुरु हुनुभन्दा दुई दिनअघि लन्डनको ओभल मैदानमा क्रिकेटभन्दा बाहिरको ‘ड्रामा’ले ध्यान तानेको छ। भारतीय टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीर र ओभल मैदानका ग्राउन्ड्सम्यान ली फोर्टिसबीच तीव्र वाकयुद्ध भएको घटनाले टेस्ट सिरिजको माहोलमा एकाएक तरंग ल्याएको छ।
मंगलबार अभ्यास सत्रको क्रममा भएको यो विवादको केन्द्रमा थियो— मैदानको प्रयोग र पिचको सुरक्षा। भारतीय टोली अभ्यासका लागि मैदानको मुख्य क्षेत्र प्रयोग गर्दै थियो, जसले ग्राउन्ड्सम्यान फोर्टिसलाई असहज बनायो। उनले टोलीका सदस्यहरूलाई खेल हुने पिचबाट टाढा रहन अनुरोध गरे। तर त्यसको प्रतिकृयामा गम्भीर झस्किए। उनले फोर्टिसलाई "सामान्य ग्राउन्ड स्टाफ" भन्दै अपमानजनक शब्द प्रयोग गरे।
फोर्टिसले गम्भीरको व्यवहारलाई अस्वीकार्य ठानी चेतावनी दिए— अपशब्द प्रयोग बन्द नगरिए म्याच रेफ्रीकहाँ रिपोर्ट गर्ने। तर गम्भीर थप आक्रोशित हुँदै आफ्नो अधिकारको दुहाई दिए— "तिमी हामीलाई सिकाउने होइन, तिमी बस एक मैदान कर्मचारी हौ।"
स्रोतका अनुसार फोर्टिसको चिन्ता जायज थियो— ओभलमा यो सिजन अझै धेरै घरेलु खेलहरू बाँकी छन्, र मुख्य पिचहरू जोगाउनु उनको दायित्व हो। तर गम्भीरको क्रोध र तीव्र प्रतिक्रियाले परिस्थिति तिक्त बनायो।
यो विवाद अब मैदानभित्रको खेलमा कत्तिको असर गर्छ भन्ने हेर्न बाँकी छ। तर एक कुरा प्रस्ट छ— पाँचौं टेस्ट केवल बल र ब्याटको भिडन्त मात्र हुने छैन, पृष्ठभूमिमा तनाव र ईगोको द्वन्द्व पनि साथसाथै चलिरहेको छ।
Super Admin
>