ताजा खबर
काठमाडौं — अफगानिस्तानको सुदूर दक्षिण–पूर्वी भाग बिहीबार राति पुनः शक्तिशाली भूकम्पले काँप्यो। स्थानीय समयअनुसार राति ८:५६ बजे गएको ५.६ तीव्रताको यो भूकम्प पछिल्ला ६ दिनभित्रकै तेस्रो ठूलो धक्का हो। कम्पनको प्रभाव अफगानिस्तान मात्र नभई पाकिस्तानका धेरै भागमा समेत महसुस गरिएको थियो।
नंगरहार र कुनार प्रान्तमा धक्का स्पष्ट महसुस भएपछि स्थानीय बासिन्दा डरले घर र आश्रयस्थल छाडेर बाहिर निस्किएका थिए। यद्यपि, प्रारम्भिक रिपोर्टअनुसार बिहीबारको कम्पनमा ठुलो जनधनको क्षति भएको पुष्टि भएको छैन। तर बीबीसीले उद्धृत गरेका स्थानीय चिकित्सकका अनुसार अस्पतालमा कम्तीमा १७ जना घाइते उपचारका लागि ल्याइएका छन्।
यसअघि आइतबार आएको भूकम्प निकै विनाशकारी बनेको थियो। संयुक्त राष्ट्रको मानवीय मामिला समन्वय कार्यालय (OCHA) ले दिएको तथ्याङ्कअनुसार सो दिनको भूकम्पमा १,३६८ जनाले ज्यान गुमाएका छन् भने २,१८० जना घाइते भएका छन्। यो विवरण २५ गाउँबाट संकलित तथ्याङ्कमा आधारित छ।
पछिल्ला लगातारका भूकम्पहरूले अफगानिस्तानको पहिल्यै नाजुक अवस्थालाई अझ चुनौतीपूर्ण बनाइरहेका छन्। उद्धार कार्य जारी भए पनि दुर्गम भूगोल, कमजोर पूर्वाधार र सीमित स्वास्थ्य सेवाका कारण प्रभावित क्षेत्रमा राहत पु¥याउन कठिनाइ भइरहेको मानवीय संस्थाहरूले जनाएका छन्।
स्थानीयबासीहरू भने हरेक कम्पनपछि अझै ठूलो विपत्तिको आशंकामा त्रसित बनेका छन्।
Super Admin
>