ताजा खबर
काठमाडौं — आज भाद्र शुक्ल पूर्णिमाका दिन आकाशमा अद्भुत खगोलीय दृश्य देखिन लागेको छ। २०८२ सालको पहिलो चन्द्रग्रहण आज राति लाग्दै छ, त्यो पनि खग्रास चन्द्रग्रहण। यस समयमा चन्द्रमा रातो रङको देखिनेछ, जसलाई ‘ब्लड मुन’ भनिन्छ।
वैज्ञानिक व्याख्या अनुसार पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ, तर रातो प्रकाश मात्र चन्द्रमामा पुग्छ। त्यसैले चन्द्रमा रातो रङमा चम्किन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु भई १ बजेर ४१ मिनेटमा अन्त्य हुनेछ। काठमाडौंलगायत देशभर मौसम खुलेको खण्डमा साढे तीन घण्टा लामो चन्द्रग्रहण सहजै देख्न सकिनेछ।
यो अद्भुत दृश्य नेपाल, भारत, पश्चिम अष्ट्रेलिया, एशिया र युरोपका करिब ८५ प्रतिशत जनसंख्याले प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्। यसै वर्ष फागुन शुक्ल पूर्णिमामा फेरि खण्डग्रास चन्द्रग्रहण लाग्नेछ।
खगोल विज्ञानअनुसार चन्द्रग्रहण तब लाग्छ, जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा पर्छन्। पृथ्वी बीचमा परेपछि यसको छायाले चन्द्रमालाई ढाक्छ। पूर्णरुपमा ढाक्दा खग्रास र आंशिकरुपमा ढाक्दा खण्डग्रास चन्द्रग्रहण हुन्छ।
धार्मिक मान्यताअनुसार ग्रहणको बेला पूजापाठ, भोजन वा अन्य कर्म नगर्नु पर्ने विश्वास छ। तर वैज्ञानिकहरूले यसलाई सामान्य खगोलीय घटना ठान्छन् र अध्ययनका दृष्टिले महत्वपूर्ण अवसर मान्छन्।
विशेषज्ञहरूले ग्रहणलाई नाङ्गो आँखाले हेर्न नहुने, बरु सुरक्षात्मक उपकरण प्रयोग गरेर मात्र अवलोकन गर्न सकिने सुझाव दिएका छन्। आज राति आकाशतिर हेर्ने जो कोहीलाई ‘ब्लड मुन’ एक अविस्मरणीय अनुभव हुनेछ।
Super Admin
>