ताजा खबर
६ असोज, काठमाडौं । स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्रा मन्त्री नबन्ने सम्भावना बढेको छ। उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन चलिरहेको जानकारी पाएपछि प्रधानमन्त्री सुशीला कार्कीले मिश्राको नाम फिर्ता गर्ने तयारी गरेकी हुन्।
आइतबार प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयकी पूर्वअतिरिक्त सचिव मिश्रासहित पाँच मन्त्रीका नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्। तर मिश्राको नाम ‘विवादित’ भएको सूचना पाएपछि राष्ट्रपति कार्यालयले उक्त सिफारिस ‘होल्ड’ गर्न लगाएको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीले आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार तथा सूचना मन्त्रीमा जगदीश खरेललाई पनि सिफारिस गरेकी थिइन्। तर, विवादका कारण मन्त्रिपरिषद् विस्तार तत्काल स्थगित भएको हो। दिउँसो २ बजे शपथग्रहण गर्ने तयारी भए पनि अलमल सिर्जना भएको छ।
मन्त्री बन्ने तयारीमा मिश्राले आइतबार अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। तर, उनी स्वास्थ्य सचिव नबनाइएका कारण लामो समयदेखि असन्तुष्ट रहँदै ६ महिना बिदामा बसेकी थिइन्। गत फागुन २१ मा वरिष्ठता मिचेर डा. विकास देवकोटा सचिव नियुक्त भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी उनले निरन्तर बिदा थप्दै आएकी थिइन्।
जेनजी आन्दोलनपछि तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेल हटेपछि डा. मिश्रा गत बिहीबार मात्र मन्त्रालय फर्किएकी थिइन्। स्त्री तथा प्रसूति रोग विशेषज्ञ उनले यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, कोशी र प्रसूति अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टलगायत पदमा काम गरिसकेकी छिन्।
Super Admin
>