ताजा खबर
काठमाडौँ — सरकारले हालै स्वीकृत गरेको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार नेपालमा युवाको उमेर अब १८ देखि ३५ वर्षसम्म कायम हुने भएको छ। राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले यसबारे जानकारी दिँदै नयाँ नीति अनुसार युवाको उमेर समूह स्पष्ट भएको बताए।
यसअघि लागू भएको ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६ देखि ४० वर्ष रहेको थियो। नयाँ नीति अनुसार नेपालको सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशसँग अनुकूल हुने गरी १८–३५ वर्ष उमेर समूहको जनसङ्ख्यालाई युवा मानिने उल्लेख गरिएको छ।
२०७८ सालको जनगणना अनुसार १६–४० वर्षको जनसङ्ख्या ४२.५६ प्रतिशत रहेको थियो। परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ नीति अनुसारको युवाको जनसङ्ख्या गणना गर्न आग्रह गरिएको बताए।
बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ वर्षसम्म भएको हुनाले १८ वर्षदेखि ३५ वर्ष उमेर समूहलाई युवामा राखिएको हो। संयुक्त राष्ट्र सङ्घले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ भने भारतमा पनि १५–२४ वर्षको उमेर समूहलाई युवा मानिन्छ।
सुरेन्द्र बस्नेतका अनुसार ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म कानुनी रूपमा युवाको उमेर १६–४० वर्ष नै हुनेछ। उनले भने, “युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्ने छ। प्रत्येक पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भए पनि नयाँ नीति १० वर्षपछि संशोधन गरिएको हो।”
नयाँ युवा नीति लागू भएपछि युवासँग सम्बन्धित कार्यक्रम, योजनाहरू र सरकारी पहलहरूमा १८–३५ वर्ष उमेर समूहलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ। यसले युवाको सहभागिता, क्षमता विकास र समग्र राष्ट्रिय विकासमा योगदान सुनिश्चित गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।
Super Admin
>