ताजा खबर
२०७९ सालको पुस महिनामा भएको नेपाल टी-२० लिग अझै विवादमा छ, कारण हो– खेलाडीहरूले अहिलेसम्म पारिश्रमिक नपाउनु। क्यानले फ्रेञ्चाइज टिमले नदिएको पारिश्रमिक दिलाउने आश्वासन दिएको भए पनि, त्यो अझै पूरा भएको छैन।
राष्ट्रिय खेलाडी करण केसी, लोकेश बम, भीम सार्की र कमलसिंह ऐरीले सामाजिक सञ्जालमा क्यानका सदस्य प्रदीप मजगैयाको अन्तर्वार्ता क्लिप सेयर गर्दै आक्रोश व्यक्त गरेका छन्। क्लिपमा मजगैयाले "दुई करोड नाफा भएको" र "क्लिन चिट" पाइएको बताएका थिए।
तर खेलाडीहरूले भने प्रश्न उठाइरहेका छन् – "कसरी क्लिन चिट, जब पैसा नै पाएका छैनौं?" क्यानका सदस्य मजगैयाले पनि खेलाडीको प्रश्न उचित रहेको स्वीकार गर्दै, पारिश्रमिक नदिएको विषयमा निर्णय त भएको तर कार्यान्वयन नभएको बताएका छन्।
काठमाडौँ नाइट्स र फार वेस्ट युनाइटेड टिमका खेलाडीहरूले क्रमशः २५% र ३५% पारिश्रमिक अझै पाउन बाँकी छ। क्यानले लिगबाट २ करोड ३० लाख रुपैयाँ नाफा भएको दाबी गरिरहँदा, ६५ लाख बाँकी पारिश्रमिक किन रोकिएको भन्ने प्रश्न उठेको छ।
नेपाल टी-२० को पहिलो संस्करण स्पट फिक्सिङ र अवैध बेटिङको आरोपले भरिएको थियो। लिगको आयोजनाको सम्पूर्ण अधिकार भारतीय बेटिङ पृष्ठभूमिको कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिइएको थियो। लिगकै दौरान कम्पनीका प्रमुख जतिन अहुवालिया भारत फरार भएपछि थप विवाद चुलिएको थियो।
खेलाडीले पारिश्रमिक नपाएपछि जिम्बावेका स्टार क्रिकेटर सिकन्दर राजा समेत प्रतियोगिता बीचमै छाडेर फर्किएका थिए। प्रशासनले विदेशी खेलाडीलाई श्रम स्वीकृति नदिई मैदानमा उतारिएको विषयमा पनि आँखा चिम्लिएको थियो।
स्पट फिक्सिङमा संलग्न भन्दै पाँचजनाविरुद्ध मुद्दा दर्ता गरिएको भए पनि अदालतले प्रमाण नपुगेको भन्दै सबैलाई सफाइ दिएको थियो। त्यसपछि पनि लिगमा पारिश्रमिक बाँकी रहने र जिम्मेवार निकायले जवाफ नदिने अवस्था निरन्तर रहँदै आएको छ।
Super Admin
>